कांग्रेसको अनुशासन समितिद्वारा थप नेता, कार्यकर्ताहरूलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले थप २६ जना नेता तथा कार्यकर्ताहरूलाई सचेत गराएको छ ।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भन्ने उजुरीहरूको आधारमा २६ जनालाई अनुशासनको कारबाही गरेको जनाएका छन् ।

कैलालीमा २, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा १, खोटाङमा १ र धनुषामा १ गरि जम्मा २६ जना नेता तथा कार्यकर्ताहरूलाई अब उप्रान्त पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरिनुका साथै प्राप्त अनुशासन कारबाही सम्बन्धित उजुरीहरू छानविन कै क्रममा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२०७९ मा सम्पन्न तीन तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारको विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकका सन्दर्भमा पार्टीको विधानअनुसार स्वतः निस्काशनमा परि कारबाही परेकाको हकमा तोकिएको प्रक्रिया पुर्‍याई आफूहरू उपर हुने कारबाही फुकुवाको लागि पुनरावेदन प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

प्राप्त भएका सम्पूर्ण निवेदनहरूलाई आवश्यक कारबाहीका लागि कोशी प्रदेशबाट १७, मधेश प्रदेशबाट २३, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट १ जना समेत गरि ८८ जनाको निवेदनहरू आवश्यक निर्णयका लागि केन्द्रीय कार्यसमितिको असार २२ गतेको बैठकमा पेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, अनुशासन समितिले थुप्रै नेताहरूलाई गम्भीर कारबाही गरेको थियो ।

Published : Thursday, 2025 July 10, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया