कांग्रेसद्वारा नाम चलेका नेताहरूलाई गम्भीर प्रकृतिको कारबाही

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा अन्तरघात गरेकाे भन्दै धेरे नेता, कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठक निर्णय बुधबार सार्वजनिक गर्दै कांग्रेसले धेरैलाई कारबाही गरेकाे विज्ञप्तिमार्फ जनाएको छ ।

स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्टीले समर्थन गरेकालाई पराजित असहयोग गरेको कारणले कारबाही गरेको उल्लेख गरिएको छ । कारबाही निस्कासन र निलम्बन गरी दुई प्रकृतिको गरिएको छ ।

‘उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक संजाल, अडिओ/भिडिओ लगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणहरुका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निस्काशन/निलम्बन गर्ने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ ।

कारबाही पर्नेहरूमा पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्ला सभापति, जिल्ला पूर्व सभापति समेत छन् । कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङको जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षको लागि निस्कासन गरिएको छ । कास्कीका पूर्व सभापति कृष्ण केसीलाई तीन महिनाका लागि निस्कासन गरिएको छ ।

तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई कारबाही गरिएको छ ।

उनीहरूलाई एक वर्षका लागि पार्टी सदस्य समेत नहुने गरी निस्कासन गरिएको छ । कास्कीका पूर्व सभापति कृष्ण केसीलाई ३ (तीन) महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको छ ।

धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषाकै सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, छ महिनाका लागि पार्टीबाट हटाइएको छ ।

कैलाली धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि छ महिनाको लागि निस्कासन गरिएको छ ।

Published : Wednesday, 2025 July 9, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया