भ्रातृ संस्थाबारे कांग्रेसको बोल्ड निर्णय, दलित संघलाई विशेष निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका घोषणा गरेका भ्रातृ संस्थाहरूको समयावधि थप गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूमध्ये हालसम्म पनि नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघले तोकिएको मितिभित्र महाधिवेशन गर्न सकेका छैनन् ।’
‘२०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधी समाप्त हुने भनि अन्तिम समय दिइएकोमा यस बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ संघहरूकोे हकमा कार्यतालिकामा तोकिएको मितिसम्म समयावधि थप गर्ने,’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
‘सबै तदर्थ समितिले २०८१ चैत्र मसान्तपछि गरेका सबै निर्णय खारेज गर्ने र कार्यतालिका प्रस्तुत गर्न नसकेको नेपाल दलित संघका सम्बन्धमा केन्द्रीय महाधिवेशन निर्देशन समिति र संघका अध्यक्षबीच छलफल गरी यथाशीघ्र महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न निर्देश गर्दछ,’ कांग्रेसले भनेको छ ।
कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तावित कार्यतालिका बमोजिम महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरी निर्देशन समितिले गर्नुपर्ने कामका सन्दर्भमा पार्टीको तर्फबाट कार्यादेश उपलब्ध गराउनेछ ।’
‘महाधिवेशन तयारी र व्यबस्थापनमा सहजीकरणका लागि पार्टीले सम्बन्धित संघको मौजुदा तदर्थ समितिका अध्यक्ष सहित महाधिवेशन व्यवस्थापन समिति बनाउनेछ,’ कांग्रेसले भनेको छ ।
‘तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न पार्टीका प्रदेश, जिल्ला लगायतका सबै तहगत समिति र अन्य सम्बन्धित सबैले निर्देशन समितिलाई आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्नु पर्नेछ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया