एनआरएनए तास्मानियाको युवा संयोजक पदमा थपलियाको उम्मेदवारी

काठमाडौं । युवा समाजसेवी विष्णु थपलियाले एनआरएनए, तास्मानिया, अष्ट्रेलियाको युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

थपलियाले आफूलाई मतदान गरेर युवा संयोजक पदमा विजयी बनाउन अपील गरेका छन् । थपलियाले आगामी २०२५ जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचनमा युवा संयोजक पदका लागि उम्मेदवारको रूपमा प्रस्तुत गर्ने निर्णयमा पुगेको बताएका छन् ।

थपलियाले सन् २०२३–२०२५ को कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले भने, ‘मैले विभिन्न सामाजिक संस्था तथा नेपाली समाज तास्मानियामा रहेर युवा नेतृत्व, सामुदायिक सेवामा सक्रिय रूपमा भूमिका निर्वाह गर्दै आएको छु । यस अनुभव र आत्मीयताको आधारमा आगामी कार्यकालमा अझ सशक्त ढंगले युवाहरूको प्रतिनिधित्व गर्दै, तिनीहरूका आकांक्षा र आवाजलाई संस्थागत तहमा पु¥याउन तपाईंहरूको विश्वास, समर्थन र साथको अपेक्षा लिएको छु ।’

‘म एनआरएनएको उद्देश्य तथा कार्यशैलीप्रति पूर्ण आस्थाका साथ, युवाहरूलाई नेतृत्व, अवसर, सिर्जनशीलता र उद्यमशीलतामा जोड दिँदै, तिनीहरूलाई सामाजिक उत्तरदायित्वमा अभिप्रेरित गर्न प्रतिबद्ध छु,’ थपलियाले भने ।

युवा संयोजक पदका उम्मेदवार थपलियाले भने, ‘प्रवासी लगानी र आर्थिक सहभागिता प्रवद्र्धन गर्ने । राज्य तथा संघीय अनुदान सुनिश्चित गर्ने । एनआरएनए अष्ट्रेलियाअन्तर्गत समर्पित अनुदान तथा साझेदारी कार्यदल गठन गर्ने । राज्य र क्षेत्रहरूमा सञ्चालन भइरहेका बहुसांस्कृतिक पहलहरूलाई समर्थन गर्नेछु ।’

‘सबै परोपकारी परियोजनाहरू एनआरएनए फाउण्डेसनमार्फत सञ्चालन गर्ने । एनआरएनए अष्ट्रेलियाको विधानमा समावेश दोस्रो पुस्ता शाखालाई सञ्चालनमा ल्याउने । एनआरएनए व्यापार सञ्जालमार्फत लगानी र उद्यमशीलता प्रवर्द्धन गर्नेछु,’ उनले भने ।

‘लगानी सम्मेलन, स्टार्टअप मार्गदर्शन कार्यक्रम तथा प्रवासी नेतृत्वमा व्यवसाय इन्क्युबेटरहरू आयोजना गर्ने । वकालत तथा नीतिगत संवादमा सक्रिय संलग्नता जनाउने,’ थपलियाले भने ।

‘समुदायमा एकता, सहकार्य र समावेशितालाई प्रवर्द्धन गर्ने । नयाँ आप्रवासीहरूलाई आवश्यक जानकारी, आवास, शिक्षा, रोजगारी र कानूनी सहायता उपलब्ध गराउने । युवा र महिलालाई नेतृत्व र सीप विकासमार्फत सशक्त बनाउने । विद्यार्थी र पेसागत व्यक्तिहरूलाई तालिम, करियर मार्गदर्शन र अवसरहरू प्रदान गर्ने । नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने । संस्थाको कार्यशैलीमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने । स्थानीय निकाय र एनआरएनए सञ्जालसँग सहकार्य गर्दै समुदायको हितमा काम गर्ने,’ थपलियाका प्रतिवद्धताहरू छन् ।

थपलियाले युवाको ऊर्जा, नेतृत्वमा नयाँ सोँच भन्ने नारा अगाडि सारेका छन् । उनले भने, ‘तपाईंहरूको अमूल्य समर्थन, सल्लाह र सुझावको अपेक्षा गर्दै मतदान गरेर विजयी बनाउनु हुन अनुरोध छ ।’

Published : Wednesday, 2025 July 9, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया