रसुवाका बाढीपहिरो पीडितको उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले रसुवाका बाढीमा हराइरहेका र समस्यामा परेकाहरूको उद्दार तथा राहतमा युद्धस्तरमा लाग्न सरकारसँग आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरेर कांग्रेसले बाढीपहिरोबाट देशव्यापी सतर्कताका लागि अपील गरेको छ ।

‘रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले हामी सबैलाई दुखित र गम्भीर बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ,’ कांग्रेसले भनेको छ, ‘नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ ।’

‘यो विपत्तिको समयमा उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ कांग्रेसले भनेको छ ।

‘वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत बर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै/स्मरण गराउँदै नेपाली कांग्रेस एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गर्दछ,’ कांग्रेसले भनेको छ ।

‘नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2025 July 8, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया