पूर्वमन्त्री एवम् कांग्रेस नेता रेग्मीको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस पाल्पाका नेता एवम् पूर्वमन्त्री अच्युतराज रेग्मीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

वरिष्ठ राजनीतिज्ञ, पूर्व मन्त्री एवं पूर्व सांसद रेग्मीको सोमबार असार २३ गते अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको कांग्रेसद्वारा मंगलबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

स्व.रेग्मी वि.सं. २०१५ सालको प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं. ९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको २०४७ सालको अन्तरिम सरकारमा रेग्मी आवास तथा भौतिक योजना मन्त्री रहेका थिए ।

पाल्पाको तानसेन नगरपालिका वडा नं. २, मेहलधारामा जन्मिएका रेग्मीले नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

रेग्मीको निधनबाट नेपाली कांग्रेसले एक वरिष्ठ र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।

रेग्मीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘पूर्वमन्त्री एवं २०१५ सालका सांसद अच्युतराज रेग्मीको निधनको खबरले मलाई दुखित बनाएको छ,’ देउवाले शोक वक्तव्यमा भनेका छन्, ‘उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा स्मरणीय रहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

Published : Tuesday, 2025 July 8, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया