नेपालभाषा मंकाः खलः, यलको पहलमा देवगणहरूको सम्मान तथा दुई कृति विमोचन
ललितपुर । नेपालभाषा मंकाः खलः, यलले ललितपुरका पौराणिक, ऐतिहासिक तथा मौलिक मुकुण्डो नाचहरूको संरक्षणमा समर्पित देवगण संस्थाहरूलाई ताम्रपत्र र नगद सम्मान गर्दै दुई महत्वपूर्ण कृतिको विमोचन सम्पन्न गरेको छ ।
ताम्रकार समाज, जावलाखेलमा आयोजित भव्य कार्यक्रममा सदियौँदेखि जीवित रहेको मुकुण्डो नाच परम्पराका संरक्षक संस्थाहरू श्री हरसिद्धि त्रिशक्ति भवानी, श्री नवदुर्गा गुठी, श्री रुद्रायणी गुठी, श्री कार्तिक नाच संरक्षण समिति, तथा गं प्याखँ प्रबन्ध समितिलाई जनही नगद १०÷१० हजार तथा ताम्रपत्रवाट सम्मान गरिएको हो ।
नेपालभाषा मंकाः खलः, यलले विशेष गरी ललितपुरका पाँचवटा प्रमुख मुकुण्डो नाच जल प्याखँ (श्री हरसिद्धि नाच), गथु प्याखँ (श्री नवदुर्गा नाच), सिकाली प्याखँ (श्री रुद्रायणी नाच), गं प्याखँ (श्री अष्टमातृका नाच), र काति प्याखँ (श्री कार्तिक नाच) का संरक्षकहरूलाई यो सम्मान समर्पित गरेको हो ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्मानपत्रहरू वितरण गर्नुका साथै लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन, मानिक रत्न शाक्यद्वारा लिखित ललितपुरका प्रसिद्ध मुकुण्डो नाचहरू नामक पुस्तकको विमोचन गरेका छन् ।
पुस्तकले ललितपुरका मौलिक नाच परम्पराबारे गहिरो अनुसन्धान प्रस्तुत गर्दै नेपालका सांस्कृतिक धरोहरलाई नयाँ दृष्टिकोणबाट उजागर गरेको उल्लेख गर्दै मन्त्री सिंहले यसले नेपाली मौलिकतालाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
नेपालभाषा मंकाः खलः, यल र मिसा साहित्यकार मुना महिला साहित्यिक संस्थाको संयुक्त पहलमा तयार भएको नेपालभाषाको कविता सङ्ग्रह सत्यया लँपुको पनि विमोचन गरिएको थियो ।
९४ जना वरिष्ठ एवं नवोदित कविहरूको सिर्जनालाई समेटिएको उक्त सङ्ग्रहमा माया, प्रेम, जीवनदर्शन, भाषिक आन्दोलन जस्ता विविध आयामका भाव समेटिएका छन् । कविहरूले आफ्ना कविता वाचन गरेका छन् ।
बागमती प्रदेश सभाका सदस्य रामकृष्ण चित्रकारले नेवार समुदायमा पौराणिक परम्परा पुस्तान्तरणको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरलाई पुरातन सभ्यता र समृद्ध संस्कृति बोकेको नगरका रूपमा चित्रण गर्दै, यसको भाषा, कला र सम्पदाको संरक्षणमा सबैको संयुक्त प्रयास अपरिहार्य भएको बताए ।
नेवाः दे दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, पुस्तकका लेखक डिन माणिकरत्न शाक्य, मिसा साहित्यकार मुनाका अध्यक्ष विमलप्रभा बज्राचार्य लगायतले आ–आफ्ना मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका छन् ।
समारोहका संयोजक तथा प्रकाशन व्यवस्थापक राजु ताम्राकारले स्वागत मन्तव्यमा देवगणहरूको सम्मानलाई संस्थाको सानो प्रयासको रूपमा उल्लेख गर्दै, यस खालका सांस्कृतिक संरक्षण कार्यक्रमलाई राज्यको तीनवटै तहका सरकारहरूले अङ्गिकार गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष हीराकाजी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले आफ्नो संस्थाले ५५ करोडको सांस्कृतिक भवन निर्माणको अभियान थालेको जानकारी गराउँदै, सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छन् ।
सचिव महेन्द्रलाल महर्जनले सञ्चालन गरेको कार्यक्रम पश्चात् नेवारी खाजासहित मैत्री भोजको पनि व्यवस्था गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया