मैले के गर्छु, के गर्दैन त्यो मेरो कुरा हो, एमालेसँगको गठबन्धन पूरा समय रहन्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू छोड् भनेर छोड्ने मान्छे नभएको बताएका छन् ।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले भने, ‘मैले के गर्छु, के गर्दैन त्यो मेरो आफ्नो कुरा हो । म छोड् भनेर छोड्ने मान्छे होइन । म अप्ठ्यारो मान्छे हो है ।’
देउवाले पार्टीको १५औं महाधिवेशन सम्भव भएसम्म समयसीमाभित्रै गरिने बताएका छन् । उनले संविधान र विधानअनुसार १ वर्षसम्म समय थप गर्न सकिने बताएका छन् । सभापति देउवाले सबै तयारीमा जुट्नुपर्ने बताएका छन् ।
‘नेपालको संविधानअनुसार ६ महिना बढाउन पाइन्छ,’ देउवाले भने, ‘नेपालको पार्टीको विधानअनुसार चार वर्षभन्दा बढ्ता पाइँदैन, मैले भनेकै हो । नेपालको संविधानको कुरा गरेको हो मैले । संविधान मान्ने मान्छे हो ।’

सभापति देउवाले एमालेसँगको गठबन्धनमा कुनै समस्या नआउने दाबी गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, ‘एमालेसँगको गठबन्धन जुन छ, यसमा अहिलेसम्म मात्रै होइन भोलिसम्म पनि मलाई विश्वास छ । यो गठबन्धन पूरा समय रहन्छ ।’
उनले दुई ठूला दल गठबन्धनमा भएकाले केही समस्या आउने विषयलाई ठूलो रुपमा लिन नहुने देउवाले बताएका छन् ।
‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनुलाई ठूलो ठान्न हुँदैन । समस्यामा छलफल गरेर हामी मिलाउन सक्छौं,’ सभापति देउवाले भने, ‘केही कुरा आए पनि हामी त्यो समस्याको रुपमा आउन दिने छैनौं ।’
दुई दलबीच सल्लाह र सहमतिमै काम कारबाही अघि बढिरहेको उनले बताएका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया