मन्त्री पाण्डे पेरिस प्रस्थान, उपाध्यक्ष डा.लामा र राजदूत भट्टराईद्वारा युनेस्को बैठकको पूर्वतयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिकस्थल तिलौराकोटलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

युनेस्कोको वर्ल्ड हेरिटेज कमिटी बैठकको तयारी स्वरुप लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा.ल्यारक्याल लामा (खेन्पो छिमे छिरिङ) पेरिसमा पुगिसकेका छन् । दुई दिन अगाडि नै उपाध्यक्ष डा.लामा पेरिस पुगेका हुन् । डा.लामा र फ्रान्सका लागि नेपाली राजदूत सुधिर भट्टराईले नेपालको तर्फबाट बैठकमा सहभागिता जनाउनुका साथै मन्त्री पाण्डेको स्वागतका लागि तयारी गरेका छन् । उपाध्यक्ष डा.लामाले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने विषयमा नेपालले विशेष पहल गर्ने बताए । डा.लामाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डे पेरिसमा आउनेवित्तिकै बैठकका विषयमा जानकारी गराइने बताए । युनेस्कोको बैठक दश दिनसम्म चल्नेछ । मन्त्री पाण्डेलाई उपाध्यक्ष डा.लामा र राजदूत भट्टराईले पेरिसमा स्वागत गर्नेछन् ।

मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका छन् । तिलौराकोटलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने दिशातर्फको कोसेढुङ्गा सावित हुनेछ ।

प्राचीन शाक्यवंशीय राजधानीका रुपमा चिनिने तिलौराकोटको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व उच्च रहेको छ । विशेषगरी गौतम बुद्धको बाल्यकाल तिलौराकोटमै वितेको मानिन्छ । यही ऐतिहासिकता र सम्पदाको मूल्यांकन गर्दै स्थानीयस्तरमा लामो समयदेखि तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिनुपर्ने माग उठ्दै आएको छ ।

पर्यटन मन्त्रालयले सोही मागलाई सम्बोधन गर्दै आवश्यक प्रक्रिया अघि बढाउने र अन्तर्राष्ट्रिय जगतमा तिलौराकोटको ऐतिहासिक योगदानको प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

प्रस्तावले नेपालका अन्य सम्पदाहरूको जस्तै तिलौराकोटलाई पनि युनेस्को सूचीमा सूचीकृत गराउने आशा पलाएको छ । बैठकमा प्रस्ताव पारित भएमा नेपालका लागि यो ठूलो उपलब्धि हुने विश्वास गरिएको छ ।

Published : Monday, 2025 July 7, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया