मानव तस्कर आरोपी उपसभामुख रानालाई बचाउन रास्वपाको झल्लु तर्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले उपसभामुख इन्दिरा राना मगरको बचाउ गरेका छन् ।

बिहीबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै झाले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै नभएको बताए । झाले रास्वपाकी समानुपातिक सांसद समेत रहेकी उपसभामुख रानालाई मानव तस्करीको अभियोगबाट बचाउन झल्लु तर्क गरेका छन् । उपसभामुख रानाले अमेरिकामा मानिसलाई भिषा दिन भनेर अमेरिकी राजदूतावासलाई पत्र लेखेकी थिइन् । रानाले चिन्दै नचिनेका मानिसलाई आफूले पत्रले लेखेको समेत बताइसकेकी छिन् ।

झाले उपसभामुखले लेखेको पत्र संसद परिसरभन्दा बाहिर नै ननिस्किएको भन्दै उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको बताए ।

झाले हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री तानिँदा नेपाली कांग्रेसले बचाउमात्र गरेको तर, कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको बताए ।

‘उपसभामुखज्युले उहाँको हस्ताक्षरसहित भिसाको अन्तर्वार्ताको लागि डेट अलि वर सारिदिनुस् भनेर अमेरिकी राजदुतावासलाई लेखेको जुन पत्र थियो त्यो पत्र उहाँको हस्ताक्षरसहित रहेको पत्र यो परिसरभन्दा बाहिर नै निस्किएको थिएन,’ झाले भने, ‘अर्को भिसाको लागि या भिजिट भिसाको लागि थिएन । अन्तर्वार्ताको लागि मिति सारिदिनुस् भन्ने थियो ।’

झाले भने, ‘दोस्रो सम्बन्धित निकायमा त्यो पत्र दर्ता नै भएन । त्यो पत्र यत्तिकै संयन्त्रमा रह्यो र आगामी दिनमा यस्तो नहोस् भन्ने भयो ।’

‘यो परिसरभन्दा बाहिर गएकै छैन र सम्बन्धित निकायमा दर्ता भएको छैन भनेर सम्बन्धित निकायले नै प्रष्टिकरण दियो । उहाँको आफ्नै स्वीकारोक्ति त्यसपश्चात, र्मैले गल्ती गरेँ, यो लेख्न नहुने रहेछ । मबाट भूल भयो भनेर उहाँले त्यही बेला र आगामी दिनमा म यस्तोमा सचेत रहनेछु भनेर स्वीकार्नुभयो,’ झाले थप भने ।

उनले भने, ‘त्यहीबेला राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारीक लेटरहेडमा पत्र निकाल्यौं कि यदि उहाँबाट केही गल्ती भएको छ भने अनुसन्धान गर्नुस् हामी सघाउँछौं भनेर भनेका थियौं । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पार्टीले त्यसो गरेको छ र ?’

Published : Thursday, 2025 June 19, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया