महामन्त्री थापाको समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न असार मसान्तसम्मकाे समय दियो
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले छिटो नवीकरण कार्य सम्पन्न गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।
बुधबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा समितिका संयोजक समेत रहेका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यताको नवीकरणको कार्यका लागि केही जिल्लाहरूले समय माग गरेको हुँदा असार मसान्तसम्म समय दिन प्रस्ताव गरेका थिए । थापाले असार मसान्तभित्र क्रियाशील नवीकरण कार्यका बाँकी कामहरू सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको समितिका सदस्य समेत रहेका कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए ।
नेता चौधरीले भने, ‘असार मसान्तसम्ममा इन्ट्री गर्ने काम सक्ने भनेर जिल्लाहरूले समय माग गरेका छन् । क्रियाशील सदस्यता नवीकरण गर्ने सबै काम सक्कियो, इन्ट्री गर्न बाँकी छ, धेरै जिल्लाहरूले हामीले काम सकिसक्यौँ, प्राविधिक काम भएको हुनाले हामीलाई थोरै समय चाहियो भन्ने प्रस्ताव आएको हुँदा हामीले यहि असार मसान्तसम्मा सबै नवीकरणहरू इन्ट्री गरिसक्नु भन्ने समयसीमा तोकेका छौँ ।’
समितिले यसअघि वैशाख १५ गतेभित्र नवीकरणका काम सक्न भने पनि अधिकांश जिल्लाहरूले उक्त अवधिमा काम सम्पन्न गरेका थिएनन् ।
क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्यमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) छन् ।
क्रियाशीलसम्बन्धी विवाद देखा परेका ९/१० वटा जिल्लाहरूमा क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यहरू नै जाने र समस्या समाधान गर्ने तयारीसमेत भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया