म पीएचडी गर्दा विदेश बसेर आएको हुँ, त्यहाँ यत्तिकै सुन फलिरहेको छैन, कठिन छ, देशमै गराैं : डा.महत

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् ।

सोमबार नेपाली कांग्रेस काँस्की क्षेत्र नम्वर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै डा.महतले भने, ‘हाम्रो पार्टीमा व्यक्तिवादी प्रवृत्ति फस्टाएको छ । संस्था फस्ट भन्ने मानसिकतालाई हामी विकास गरेर अगाडि बढ्यौँ भने हामी ठीक ठाउँमा हुन्छौँ ।’

डा.महतले आर्थिक वर्षको नयाँ बजेट आउन लागेको अवस्थामा ३ करोडभन्दा तलका साना योजनामा बजेट दिन नहुने बताए । उनले बरु थोरै योजना बनाउने तर, समयमा सम्पन्न गर्नुपर्ने बताए । डा.महतले जनतामा छाएको निशारालाई काम पूरा हुने गरेर बजेटको निश्चितता गरी योजनाहरू समयमा पूरा गर्नुपर्ने बताए ।

‘सरकारको कुरा, बजेट पनि आउँदैछ । मैले त अर्थमन्त्री हुँदा नै भनेको थिएँ, हाम्रो देशमा कनिका छरे जस्तै छरेर, परिणाम शून्य,’ डा.महतले भने, ‘परिणाम केही नआउने, खर्च भएको भइ छ । मैले ३ करोडभन्दा तलको केन्द्रले आयोजना राख्नु हुँदैन भनेको थिएँ ।’

उनले भने, ‘कार्यविधि पनि मन्त्रिपरिषदबाट पारित गरियो । नयाँ सरकार आयो त्यसलाई एकातिर फ्याकेर जेम मन लाग्यो त्यो गरे ।’

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘अहिले हामीले त्यही भनि राखेका छौँ । केन्द्र सरकारको ३ करोडभन्दा तलको आयोजना नराख्ने । जति राखेको छ त्यसको स्रोत निश्चित गर्ने । काम हुन्छ । थोरै होस् । परिणाम देखिन थाल्यो भने जनतामा विश्वास बढ्छ ।’

‘अहिलेको चुनौति भनेको अविश्वासको चुनौति हो । यिनीहरूले धेरै कुरा भन्छन् गर्दैनन् । थोरै कुरा भन्ने, गरेर देखाउने । त्यो बाटोमा नगएसम्म यो देश बन्दैन,’ डा.महतले भने ।

‘युवाहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु भने, कि विदेशमा म पनि बसेर आएको हुँ । म पिएचडी गर्ने शिलशिलामा बसेको हुँ । ६/७ वर्ष । विदेशमा यत्तिकै सुन फलिरहेको छैन,’ डा.महतले भने ।

‘अत्यन्त कठिन छ । त्यति मेहनत नेपालमा गर्न तयार हुने हो भने विदेशमा भन्दा राम्रो गरिन्छ । देशप्रतिको विश्वास नगुमाऔँ । यो देश राम्रो छ । यो देशमा सम्भावना छ,’ कांग्रेस प्रवक्ता डा.महतले भने ।

उनले भने, ‘०४६ सालभन्दा अगाडि कस्तो थियो नेपाल ? ६० प्रतिशत जनसंख्या खाली खुट्टा हिँड्थे । बाटोघाटो थिएन । औषधि उपचारको नामोनिशान थिएन । त्यो अवस्थाबाट यो स्थितिमा आएको हो । यत्रो द्वन्द्वको बाबजुद, यत्रो अफ्ठ्याराका बाबजुद, यस्तो अस्थिरताका बाबजुद । यहाँ आइपुगेका छौँ ।’

‘अझै ज्यादा गर्न सकिन्छ । हाम्रा पनि कमीकमजोर भए । आउने दिनमा ती कमीकमजोरीलाई हटाएर हामी काम गर्ने हो,’ उनले भने ।

उनले भने, ‘मेरै कुरा भएको छ । आईटीमा धेरै रिभ्यूलोशन भएको छ । अर्बौंको निर्यात भइरहेको छ । पोखरामा कति छ ? काठमाडौंमा त गल्लीगल्लीमा विदेशको अफिसलाई जे काम गर्नुपर्छ नेपालबाट अमेरिका, युरोप, बेलायतमा काम भएको छ । धेरै लगानी पनि पर्दैन ।’

‘अलिकति पढेलेखेको जाने मात्रै हुन्छ । एउटा कम्प्युटर मात्रै भए हुन्छ । हाम्रो देशमा रुपान्तरण हुन्छ । पर्यटन, आईटी, कृषिको आधुनिकीकरणमार्फत उत्पादनमा आधारित मैले ल्याउको हो त्यो पोलिसी । उत्पादन देखाउ अनुदान लिएर जाउँ,’ प्रवक्ता डा.महतले भने ।

कार्यक्रममा कांग्रेस नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, बागलुङ कांग्रेसका सभापति एवम् गण्डकी प्रदेशका सांसद जीतबहादुर शेरचन, गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Monday, 2025 May 19, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया