सशस्त्र प्रहरीका असई छत्यालद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

आइतबार बिहान ९ बजेर २० बजेमा छत्यालले सगरमाथाको चुचुरोमा पुगेको समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वाङ्दी शेर्पाले जानकारी लिएका छन् ।

सगरमाथा शिविरमा छत्यालले ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन् ।

सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए ।

तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण गरेका छन् ।

सगरमाथा आरोहणका लागि असई छत्याल वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका हुन् ।

छत्याललाई वैशाख १४ गते प्रधानमन्त्री केपी ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।

सगरमाथा आरोहण गर्ने उनी सशस्त्र प्रहरी बलका दोस्रा कर्मचारी हुन् । यसअघि गत वर्ष ईन्स्पेक्टर सुरज पौडेलले सगरमाथा आरोहण गरेका थिए ।

Published : Sunday, 2025 May 18, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया