ओखलढुङ्गा कांग्रेसका पूर्वसभापति स्व.कोर्मोचालाई आज बिहान केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलि

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्व सभापति महेशकुमार कोर्मोचाको जेठ २ गते बेलुकी १०ः४५ बजे उपचारका क्रममा निधन भएको छ ।

कोर्मोचाको पार्थिव शरीरलाई आज (आइतबार) जेठ ४ गते बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले कोर्मोचालाई कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिने केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए ।

कोर्मोचाको आफ्नै गृह जिल्ला ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा दाहसंस्कार गरिने कार्यक्रम रहेको सभापति खतिवडाले बताए ।

विक्रम संवत् १९९९ सालमा जन्मिएका स्वर्गीय कोर्मोचा ब्रिटिस सेनाको जागिर छोडेर नेपालको लोकतान्त्रिक आन्दोलनमा लागेका थिए ।

नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा कोर्मोचाको लामो समय जेल जीवन र प्रवास समेत व्यहोरेका थिए ।

कोर्मोचाले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । मानवअधिकारको क्षेत्रमा समेत सक्रिय रहँदै दर्जनौं संस्थाहरूसँग आवद्ध भएर ओलखढुङ्गाको विकासमा कोर्मोचाले उल्लेखनीय योगदान पु¥याउँदै आएका थिए ।

‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका महेश कोर्मोचाको निधनबाट नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता, अग्रज र एक अनुभवी राजनीतिज्ञलाई गुमाएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयबाट आइतबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

कोर्मोचा २०४९ को स्थानीय तहको निर्वाचनमा जिल्ला विकास समिति ओलखढुङ्गाका सभापति समेत हुन् ।

Published : Sunday, 2025 May 18, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया