कश्मीर आतंकवादी हमलामा नेपाली नागरिकको मृत्यु, परराष्ट्रमन्त्री डा.राणा मर्माहत

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिकको निधन भएको घटनाबाट निकै मर्माहत भएको जनाएकी छिन् ।

बुधबार डा.राणाले प्रेस नोट जारी गरेर पाहलगममा भएको आतंककारी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको निधन भएकोमा मर्माहत भएको जनाएकी छिन् ।

रुपन्देही जिल्लाको वुटवल उप–महानगरपालिका वडा नं. ११, कालिकानगर निवासी न्यौपानेको निधन भएको छ ।

‘सुदीप न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

डा.राणाले आतङ्ककारी हमलामा परेर घाइते भएकी सुदीप न्यौपानेकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । ‘उहाँहरू घुमघामका लागि त्यहाँ पुग्नुभएको समाचार पनि प्राप्त भएको छ’, डा.राणाले भनेकी छिन् ।

‘यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन’, डा.राणाले भनेकी छिन्, ‘नेपाल सरकार यो घटनाको निन्दा एवं भर्त्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’

सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

Published : Wednesday, 2025 April 23, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया