पत्नीका कारण झमेलामा परे पूर्वआईजीपी कुँवर, अख्तियारद्वारा अनुसन्धान
काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर आफ्नी पत्नी लक्ष्मी पराजुलीका कारण झमेलामा परेका छन् ।
पूर्वआईजीपी कुँवरकी पत्नी पराजुली प्राथमिक विद्यालयको स्थायी शिक्षिका हुन् । उनको दरबन्दी गृहजिल्ला अर्घाखाँचीको विद्यालयमा दरबन्दी रहेको छ ।
पूर्वआईजीपी कुँवर र पराजुलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा/काज सम्बन्धी उजुरी परेको छ । कुँवर र पराजुलीविरुद्ध आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
शिक्षिका पराजुली चार वर्षअघि माओवादी निकट शिक्षक संगठनमा आबद्ध थिइन् । पराजुलीलाई तत्कालीन माओवादी नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको सिफारिसमा काठमाडौं महानगरपालिका वडा नं. ४ मा पर्ने पञ्चकन्या प्राथमिक विद्यालयमा सरुवा गरिएको थियो ।
सरुवापछि वडाध्यक्ष दिनेश महर्जनको सिफारिसमा पराजुलीलाई दरबन्दी नै नभएको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा गराइएको थियो । पराजुली काजमा बसेको बेला पञ्चकन्यामा महानगरपालिकाले खेताला शिक्षक करारमा राखेको थियो ।
कुँवर आइजीपीमा नियुक्त भएको तेस्रो दिनमै पराजुलीको काज प्रहरी मुख्यालय नक्सालमा भएको थियो । कुँवरले आईजीपीबाट अवकाश पाएको १० दिनपछि मात्र पराजुलको काज फिर्ता भएको रेकर्डमा देखिएको छ ।
शिक्षिका पराजुलीको काज प्रक्रियाविरुद्ध उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको स्रोतले जनाएको छ । अख्तियारले काठमाडौं महानगरपालिका वडा नं. ४ को वडा कार्यालय र प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्र पठाएर विस्तृत विवरण मागेको छ । प्रहरी स्रोतका अनुसार पत्र पुगेको पुष्टि भए पनि त्यसको जवाफ पठाइएको वा नपठाइएकोबारे स्पष्ट जानकारी छैन ।
शिक्षिका पत्नी पराजुलीको काज/सरुवामार्फत भएको अनियमितता उजागर हुँदै जाँदा पूर्वआईजीपी कुँवर कानूनी र नैतिक घेरामा पर्न सक्ने संकेत देखिएको छ ।
आईजीपी हुँदा नक्सालमा रहेको सरकारी क्वाटरमा विचौलिया र दलालहरूसँग हिमचिम बढाएका कुँवरका कर्तुतहरू एकपछि अर्को बाहिर आउन थालेका छन् । कुँवरको सम्पत्ति छानविनको माग पनि उठेको छ । सहकारी ठगका अभियुक्त रास्वपाका सभापति रवि लामिछानेलाई बचाउन आईजीपीको कुर्सीमा बसेर कुँवरले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा चाकढी गरेका थिए ।
आईजीपी पदको शक्तिको दुरुपयोग गरेर कुँवरले पत्नीलाई हेडक्वाटरमा ल्याएर अख्तियारी दुरुपयोग गरेका छन् । यो पनि भ्रष्टाचार नै हो । सबैले यसैगरी अख्तियारी दुरुपयोग गरेर शक्तिको दुरुपयोग गर्ने हो भने शिक्षाको अवस्था के हुन्छ ? प्रश्न उठेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया