पोखरामा १५ अर्ब घोटालामा मुछिएका प्रदीपले चाँदमालाको जिम्मेवारी खोसे, निरौलाको अनुहारमा चमक
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै १५ अर्ब भ्रष्टाचार, घोटाला र अनियमिततामा कारबाही सिफारिसमा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफ्नो ‘कोरटिम’की सदस्य चाँदमाला श्रेष्ठको जिम्मेवारी खोसेका छन् ।
केही दिने अगाडि अधिकारीले जिम्मेवारी खोसेपछि चाँदमाला निकै तनाबमा परेको स्रोतले जनाएको छ । ९ तहकी चाँदमालालाई अधिकारीले अपार कृपा गरेर राष्ट्रिय गौरव आयोजनाको ११ तहको निर्देशक पदको जिम्मेवारी दिएका थिए ।
गोप्य सूचनाहरू चुहाएको भनेर महानिर्देशक अधिकारीले चाँदमालालाई निर्देशक पद खोसेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको कोर सिभिलको जिम्मेवारी दिएका छन् । कोर सिभिलमा १० तह अर्थात् उप–महानिर्देशक हुनुपर्छ । नियम विपरित महानिर्देशक अधिकारीले ९ तहकी चाँदमालालाई थन्काउन कोर सिभिलको जिम्मेवारी दिएका छन् । चाँदमालाको पद आर्किटेक्चरको हो । ऐन, नियम हेर्ने हो भने चाँदमालालाई कोर सिभिलको प्रमुखको जिम्मेवारी दिन मिल्दैन ।
अहिले आएर महानिर्देशक अधिकारीले चाँदमालालाई विश्वास गर्दैनन् । कोरटिमको बैठकमा बोलाउँदैनन् । चाँदमालालाई मुख छाडेर गालीगलौज समेत गरेको एक कर्मचारीले आरोप लगाएका छन् ।
चाँदमालाले पनि आफू निकटका कर्मचारीहरूसँग महानिर्देशक अधिकारीले फसायो भनेर गुनासो गर्ने गरेकी छिन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको झण्डै १५ अर्ब घोटाला काण्डमा चाँदमालाले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक पटक बयान दिएकी छिन् । सार्वजनिक लेखा समितिको उपसमितिले पनि महानिर्देशक अधिकारीसँगै कारबाही सिफारिस गरेका कर्मचारीहरूको सूचीमा चाँदमालाको पनि नाम छ ।
चाँदमालाले ‘प्राधिकरणलाई बचाउने हो भने प्रदीप अधिकारीलाई हटाउनै पर्ने’ भनेर कर्मचारीहरूका बीच लबिङ समेत गरेको स्रोतले जनाएको छ । चाँदमालाले आफू समाप्त भए पनि प्राधिकरणलाई महानिर्देशक अधिकारीबाट बचाउन त्याग गर्न तयार रहेको बताउन थालेकी छिन् ।
चाँदमालाले अधिकारी महानिर्देशकबाट नहट्दासम्म प्राधिकरणमा कसैले पनि शान्ति पाउन नसक्ने भन्ने गरेको एक कर्मचारीले बताएका छन् । चाँदमालाले ‘घुस, भ्रष्टाचार र सेटिङमा प्रदीप दाईले गर्नु हुन्छ, बयान चाहिँ मैले दिनुपर्छ’ भनेर गुनासो गरेपछि प्रदीपले उनलाई विगतमा अमेरिका घुम्न पनि पठाएको स्रोतले जनाएको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई प्रलोभनमा पारेर ११ तहका अधिकारीले महानिर्देशक पद हत्याएपछि तत्कालीन समयमा हरेक दिन ५ बजेपछि ‘कोरटिम’को बैठक बस्दै आएको थियो । चाँदमाला पनि त्यो कोरटिमको सदस्य हुन् । कोरटिमको अन्य सदस्यमा राजेन्द्र पौडेल, दीपेन्द्र श्रेष्ठ, बाबुराम पौडेल, नलविक्रम थापा बसेर राति ८÷९ बजेसम्म कसले के भन्यो ? के ग¥यो ? कसलाई के बिगार्ने ? कहाँ सरुवा गर्ने ? जस्ता योजना बनाउने गरेका थिए । महानिर्देशक अधिकारीले चाँदमालालाई सुराकी भनेर कोरटिमको बैठकमा बोलाउँदैनन् ।
महानिर्देशक अधिकारीका गोप्य सूचनाहरू बाहिरिएपछि आशंकाका भरमा चाँदमाला कोरटिमबाट आउट भएकी हुन् । समग्रमा भन्ने हो भने चाँदमाला खराब कर्मचारी होइनन् । आफ्नो स्वार्थका लागि चाँदमालालाई महानिर्देशक अधिकारीले धेरै प्रयोग गरेर जेलसम्म पु¥याउन लागेका छन् । महानिर्देशक अधिकारीको मीठा र गुलिया कुराले चाँदमालाको करियर समाप्त हुने सम्भावना बढेको छ । चाँदमालाको पक्षमा कर्मचारीहरूले सहानुभूति राख्न लागेको प्राधिकरणका एक कर्मचारीले बताएका छन् ।
महानिर्देशक अधिकारीले पछिल्लो समय कोरटिमका अन्य सदस्यहरूलाई पनि ‘सुराकी सिगाने’ भनेर आशंकाले हेर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई मात्रै महानिर्देशक अधिकारीले विश्वास गर्ने गरेका छन् ।
१५ अर्ब घोटाला काण्डमा मुछिएपछि प्राधिकरणसहित देशभरिबाट एक्लिदै गएका महानिर्देशक अधिकारीले महाप्रबन्धक निरौलालाई विश्वास गरेर आफ्ना गोप्य जानकारी र कुराहरू सेयर गरिरहेका छन् । निरौलाले अधिकारीलाई नै बलिको बोका बनाएर महानिर्देशक बन्ने योजनामा लागेको स्रोतले जनाएको छ । निकै चिप्ला कुरा गर्न जानेका निरौलाले नै अधिकारीलाई महानिर्देशक पदबाट विस्थापित गर्ने चर्चा प्राधिकरणभित्र हुन थालेको छ । महाप्रबन्धक निरौलामा निकै चमक र हँसमुख देखिने गरेको प्राधिकरणमा चर्चा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया