सभापति देउवासँग महिला संघकी अध्यक्ष राउतद्वारा भेट, पाए सहयोग आश्वासन

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई नेपाल महिला संघकी अध्यक्ष उषा राउतले महाधिवेशनका विषयमा भइरहेका तयारीबारे जानकारी गराएकी छिन् ।

शुक्रबार बिहान बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग अध्यक्ष राउत नेतृत्वमा महिला नेतृहरूले भेट गरेर हालसम्म भएको तयारीका विषयमा जानकारी गराएका हुन् । राउतले संघभित्र केही महिला नेतृहरूमा देखिएको बिचलन र महाधिवेशन बिथोल्ने गरेर भइरहेका गतिविधिका बारेमा पनि सभापति देउवालाई जानकारी गराएकी छिन् ।

सभापति देउवाले झिनामसिना कुरामा नलागेर आफ्नो उद्देश्यअनुसार नेपाल महिला संघको महाधिवेशन गर्ने र त्यसको तयारीमा निरन्तर लाग्न निर्देशन दिएका छन् । काम गर्दै जाँदा समस्या र कठिनाइ आउँदा आफूले सहयोग गर्ने आश्वासन सभापति देउवाले अध्यक्ष राउतलाई दिएका छन् ।

Published : Friday, 2025 April 18, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया