कांग्रेस कसैसँग डराएर, कसैले हल्लाएर, कसैले लतारेर कमजोर हुँदैन, जनताको सेवा गर्छ : मोहन बस्नेत
तातोपानी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विश्वका सामु परराष्ट्रमन्त्री डा.आरजु राणाले कुटनीतिक क्षेत्रमा गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले तातोपानीमा आयोजित कार्यक्रममा नेता बस्नेतले डा.राणालाई नेपालको प्रथम महिलाको रुपमा सिन्धुपाल्चोकले हेर्न चाहेको बताए ।
उनले भने, ‘नेपालमा मात्रै होइन साउथ एशिया रिजनमा महिलाहरूको भूमिका राष्ट्रिय राजनीतिमा महत्वपूर्ण हुँदै आएको छ ।’
‘नेपालको सन्दर्भमा पनि चाहे न्यायधीश होस् । चाहे प्रतिनिधि सभाको सभामुख होस् । राष्ट्रपति जस्तो सम्मानित पद होस् । महिलाहरूले ग्रहण गर्ने कुरा भएको छ । त्यो योग्यता र क्षमता महिलाहरूले प्रदर्शन गर्नुभएको छ’, नेता बस्नेतले भने ।
‘यस्तै रुपमा अगाडि बढ्दै जाने र एउटा सफल परराष्ट्रमन्त्रीको हैसियतले कुटनीतिक हिसाबले नेपालको स्वार्थ विभिन्न ठाउँमा जाँदा आफ्नो स्वार्थअनुकूल अभिव्यक्ति राख्न सक्ने मान्छे पछि यहाँको नीति निर्माणसम्म राजनीतिक दखल राखेको कुरा हामीलाई थाहा छ’, बस्नेतले भने ।

‘आगामी दिनको पहिलो महिला प्रधानमन्त्री तपाईले प्राप्त गर्न सक्नु हुन्छ । त्यो हिसावले शुभकामना व्यक्त गर्न चाहन्छु । हामी तपाईका प्रत्येक कदममा साथ दिन पनि चाहन्छौँ । भोटेकोशीले जुन अभिव्यक्ति राख्यो त्यो किसिमको कुरा ठान्नु भए हुन्छ’, उनले भने ।
सिन्धुपाल्चोकमा कांग्रेसले गरेको कामका कारण जनताले आफूलाई जनप्रतिधिका रुपमा विजयी बनाएको बताए । उनले आफू क्षेत्र नं. २ बाट विजयी भए पनि क्षेत्र नं. १ मा पनि जनतासँग साथमा रहेको बताए ।
उनले भने, ‘कोभिडको बेला होस्, बाढी वा पहिरोको बेलामा होस् । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले एकछत्र रुपमा काम गरेको छ । काम गरेकै कारण स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगरिकन वडा, पालिका, जिल्ला समन्वय समिति लगायत सबैमा पार्टीले दिएको निर्देशनअनुसार प्रदेश र संघमा सबै उम्मेदवारलाई जिताउन कांग्रेसको नेतृत्वमा सफल भएको छ ।’

नेता बस्नेतले कांग्रेस कसैसँग पनि नडराएर जनताको सेवा गर्ने बताए । उनले भने, ‘कांग्रेस कसैसँग डराएर, कसैले हल्लाएर, कसैले लतारेर, कसैले कमजोर गराएर केही हुने वाला छैन । कांग्रेसले विपतका बेला सहयोग गरेका कारण सिन्धुपाल्चोकका जनताले कांग्रेस बाहेक कोही पनि देखेका छैनन् । त्यही कारण हामी सफल भएका छौँ ।’
‘जनतालाई आफ्ठ्यारो परेका बेला जनताको पक्षमा सधैँ उभिने काम कांग्रेसले गर्छ । जनताको सारथी बनौँ । सहयोग गरौँ । सबैले सेवा गर्ने काममा खटिनुपर्छ’, नेता बस्नेतले भने ।
‘कांग्रेसले जे बोल्छ त्यो गर्छ भन्ने विश्वास छ । त्यो विश्वासलाई टुट्न दिने छैनौँ’, पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया