केही भएको छैन भन्ने भाष्य निर्माण गरेर ठूलै राजनीतिक शक्तिलाई अगाडि बढाउने कोशिष छ : डा.राणा

तातोपानी । परराष्ट्रमन्त्री डा.आरजु राणाले देशमा फड्को मारिसकेको बताउँदै केही समूहरू नकारात्मक कुरालाई मात्रै फैलाउन कार्यमा लागेको बताएकी छिन् ।

शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले तातोपानीमा निर्माण गरेको भवनको उद्घाटन गर्दै डा.राणाले भनिन्, ‘यो देशले धेरै फड्को मारेको छ । यो देशले फड्को मारेको कुरा हामी सबैलाई थाहा छ ।’

उनले भनिन्, ‘तैपनि मही माग्ने ढुङ्ग्रो लुकाउने कार्य भएको छ । यहाँ केही पनि भएको छैन भन्ने एउटा भास्य निर्माण गरेर ठूलै राजनीतिक शक्तिलाई अगाडि बढाउन कोशिष गरिरहेको कुराहरू सुन्नमा आउँछ ।’

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘के राजनीति उथलपुथल गर्ने समय हो र ? हामी समृद्धि तर्फ जाने होइन र ? दुःख गरेर संविधान लेख्यौँ । शान्ति प्रक्रियामा गएका छौँ ।’

‘देशलाई कसरी समृद्ध बनाउने ? हाम्रो देशमा आर्थिक कारोबारहरूलाई अगाडि बढाउने समय आएको छ’, डा.राणाले भनिन्, ‘शिक्षा र स्वास्थ्यमा धेरै कुरा हासिल गरिसकेका छौँ । अब हाम्रो समय भनेको समृद्धितर्फ जाने समय हो ।’

परराष्ट्रमन्त्री डा.राणाले ढुङ्गा, मुढा, आगजनी गर्ने जस्ता गतिविधिमा आफ्ना सन्ततीलाई लगाउन नहुने बताएकी छिन् । उनले भनिन्, ‘अहिले ढुङ्गा हान्ने, आगलागी गर्ने जस्ता गतिविधिमा कोही पनि संलग्न नहुनुस् । आफ्ना बच्चाहरूलाई राम्रो शिक्षा कसरी दिने र अगाडि कसरी बढाउने ? सोँच राख्नुपर्छ ।’

डा.राणाले समाजमा मिडियाको ठूलो महत्व रहने बताएकी छिन् । उनले भनिन्, ‘मिडियाले सकारात्मक सन्देश दिनुपर्छ । मिडियाको भूमिका ठूलो रहन्छ । हामी कसैले पनि नकारात्मक कुरालाई धेरै महत्व दिनु हुँदैन ।’

परराष्ट्रमन्त्री डा.राणाले तातोपानीमा ५२÷५३ वर्ष अगाडि बाल्यकालमा बुबाआमासँग आएको स्मरण गरेकी छिन् । उनले भनिन्, ‘म धेरै वर्षपछि आएको छु । मैले गनेको म यहाँ फस्ट टाइम सन् १९७२ मा आएको रहेछु । करीव ५४ वर्ष अगाडि आएको रहेछु । म यहाँ आउँदा तपाईहरू कतिजना जन्मनु पनि भएको थिएन ।’

‘त्यो बेलामा पनि यो तातोपानीको महत्व बुझेर नै हाम्रो बुवामुमाले हामीलाई ल्याउनु भएको होला । हामी यहाँ राति सुतेका पनि थियौं’, उनले भनिन्, ‘त्योभन्दा अगाडि म यस्तो ठूलो खोलाको छेउमा बसेको थिएँन । रातभरि खोलाको ठूलो आवाजले नसुतेको मलाई याद छ ।’

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘५१÷५२ वर्षपछि म यो ठाउँमा आइपुगेको छु । मलाई भाग्यशाली ठानेको छु । राम्रो स्नानगृहको उद्घाटन गर्न पाएको छु । तातोपानीको धार्मिक महत्व पनि छ । महादेवले त्रिशूल गाढेर तातोपानी निकालेको किंम्बदन्ती रहेछ ।’

डा.राणाले भनिन्, ‘यहाँका स्थानीयलाई कति ठूलो चुनौती रहेछ, बाढी आयो, भूकम्प आयो, पहिरो आयो भन्ने कुरा काठमाडौंमा सुन्छौँ । यहाँका स्थानीयले अफ्ठ्याराहरू भोग्नुभएको छ । हरेक पटक नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतज्यू र अन्य नेताहरूले सहयोग गर्नुभएको पनि मलाई थाहा छ । त्यहि अनुरुप यहाँका जनताले उहाँलाई भोट दिएर प्रतिनिधित्व गर्नलाई पठाउनुभएको छ ।’

‘दक्षिणतिरको नाकामा जान सजिलो छ । उत्तरतिरको नाकाहरूमा आउन गाह्रो छ । यो सबैभन्दा पुरानो नाका हो । यो नाकामा अझै पनि धेरै विकास नेपाल सरकारको तर्फबाट गर्नुपर्ने देखिएको छ । चिनियाँ मित्रहरूले आफ्नो साइडमा राम्रो खम्बाहरू बनाएर भत्किएका संरचनाहरूलाई बनाइसक्नु भएको रहेछ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।

‘मैले फोटो खिचेको छु । मैले यो फोटोहरू सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक मन्त्रीज्यूहरूलाई पठाएर पहल गर्छु । अलिकति हाम्रो स्रोत साधन खर्च गरियो भने यहाँबाट आउने हरेक सामान र राजस्व तीन गुणा बढेर जान्छ । धेरै राम्रो राजस्व उठ्न सक्छ’, डा.राणाले भनेकी छिन् ।

Published : Friday, 2025 April 18, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया