सभापति देउवाद्वारा तत्कालीन समयमा सत्याग्रह र लोकतान्त्रिक आन्दोलनप्रति सक्रिय स्व.न्यौपानेको योगदानको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गोरखाली नेता चन्द्रप्रसाद न्यौपानेको महतवपूर्ण योगदान रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति न्यौपानेको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा देउवाले पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै दिवङ्गत न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान अनुकरणीय रहेको बताए ।

देउवाले भने, ‘प्रजातन्त्र पुनःस्थापना, लोकतन्त्रको सबलीकरणका लागि नेपाली कांग्रेस पार्टीले आह्वान गरेको सत्याग्रह र जनआन्दोलनमा सक्रियरूपले सहभागी भएका न्यौपानेले पटकपटक जेल जीवन विताउनुभयो ।’

‘पञ्चायको कठिन घडीमा पनि पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै जिल्लाको विकास निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिए’, सभापति देउवाले भने ।

उनले पार्टी प्रतिबन्धित रहेको अवस्थामा २०२४ सालमै पार्टी जिल्ला कार्यसमिति सदस्य रहेका न्यौपानेले प्रजातन्त्र पुनःस्थापनापछि लामो समयसम्म महासमिति सदस्यसहित विभिन्न भूमिकामा रहेको स्मरण गरेका छन् ।

सभापति देउवाले ‘चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ’ लोकार्पण गरेका थिए । ग्रन्धमा विक्रम संवत् २०१४ देखि राजनीतिक यात्रा आरम्भ गरेका न्यौपानेसम्बन्धी ४७ वटा संस्मरणात्मक लेखरचना समावेश छन् ।

कांग्रेस नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेको निष्ठा, त्याग र सिद्धान्तप्रतिको प्रतिबद्धता सदैव प्रशंसनीय रहेको बताएका छन् ।

राष्ट्रियसभा सदस्य कमला पन्तले पछिल्लो समय पार्टीमा निष्ठा कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गरेकी छिन् । उनले देश र जनताप्रतिको सेवाभाव र विश्वास न्यौपानेबाट सिक्नुपर्ने बताएकी छिन् ।

कांग्रेस गण्डकी प्रदेशका महामन्त्री एवं राष्ट्रियसभा सदस्य किरणबाबु पुनले जटिल राजनीतिक परिस्थितिमा आफ्नो जीवनको बाजी लगाएर न्यौपानेले अघि बढाएको राजनीतिक यात्रा अविस्मरणीय रहेको बताएका छन् ।

कांग्रेस नेता डा.मीनेन्द्र रिजालले पञ्चायतको कठिन र जटिल अवस्थामा जनतासँग जोडिएर न्यौपानेले प्रजातन्त्र र लोकतन्त्रका निम्ति आफूलाई समर्पित गरेको बताएका छन् ।

कांग्रेस नेता चीनकाजी श्रेष्ठ र नन्दलाल न्यौपानेलगायतले दिवङ्गत न्यौपानेको राजनीतिक जीवनको चर्चा गर्दै स्व.चन्द्रप्रसाद न्यौपानेको विचार र भावना अनुशरण गर्न सकेमात्रै सञ्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

Published : Wednesday, 2025 April 16, 3:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया