छ महिना यता आएर कांग्रेसले कांग्रेसलाई विरोध गर्न छोडेको छ : नेता खाण

भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले छ महिना यता पार्टीका नेताहरूले आफ्नै नेताहरूको आलोचना गर्न छाडेको भन्दै खुसी व्यक्त गरेका छन् ।

बुधबार नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्दै खाणले कांग्रेसले कांग्रेसकै आलोचना गर्ने कार्य छ महिना यता रोकिएको बताए । उनले भने, ‘हाम्रो पार्टीको हामीहरूले के गर्छौं भने आफ्नै पार्टीलाई हामीले आलोचना गरिरहेका छौँ । नेताहरूलाई विशेष धन्यवाद । छ महिना यता आएर कांग्रेसले कांग्रेसलाई विरोध गर्न छोडेको छ ।’

‘यो राम्रो संकेत हो । कांग्रेसका साथीहरूले गर्नुभएका राम्रा कामहरूको हामीले प्रचार गर्‍यौँ भने, सुसुचित गर्‍यौँ भने, जानकारी दियौँ भने हामी हाम्रो पार्टी र हामीलाई करेक्सन गर्‍यौँ भने संशोधन गर्‍यौँ भने नेपाली कांग्रेस नै नेपालको एक नम्बर भएर रहनेछ’, नेता खाणले भनेका छन् ।

नेता खाणले सभापति शेरबहादुर देउवाले संविधानलाई संशोधन गरेर अझै अधिकार सम्पन्न बनाउने एजेण्डामा अन्य दलहरू पनि सहमतिमा आएको भन्दै संविधानलाई संशोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘संविधान जारी हुँदाखेरीका दियो बालेका पक्षलाई पनि चित्त बुझाउने र त्यतिखेर बत्ती निभाएर अध्याँरो नेपाल बनाउन खोज्नेहरूलाई पनि चित्त बुझाउने गरी यो सबैको स्वामित्व स्वीकार हुने, सबैको स्वामित्व सम्बोधन हुने खालको संविधान हामीले बनाउन यसलाई संशोधन गर्दै जाने छौँ, भन्ने हाम्रो सभापतिजीको कमिटमेन्ट थियो र त्यसमा अरु पार्टीका नेताहरू पनि त्यति बेलाका गठबन्धनका नेताहरूले पनि यसलाई स्वीकार गरेको हो ।’

‘संविधान बदल्ने भन्नेवित्तिकै हामी आपत्तिनु हुँदैन । जनताको सार्वभौम सत्तालाई स्थापित गरेर त्यसलाई बलियो बनाउने जनताको इच्छा र आकांक्षालाई बलियो बनाउने युवाहरूको चाहनालाई मूर्त गर्ने र गतिशील गराउनको लागि नै यो संविधानलाई बदल्दै पनि जाने हो । संविधानलाई संशोधन पनि गर्दै जाने हो’, नेता खाणले भने ।

Published : Wednesday, 2025 April 9, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया