झलनाथ खनालले प्रदीपलाई भने भ्रष्टाचारीको नायक, महानिर्देशक बनाएर गल्ती भयो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले भ्रष्टाचारको नायकलाई नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को महानिर्देशक बनाउने काम भएको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता खनालले आफ्नो पार्टी सरकारमा गएका बेला प्राधिकरणको महानिर्देशकमा भ्रष्टाचारको नायकलाई नियुक्त गर्ने काम भएकाले बताए । उनले महानिर्देशकले कस्तो काम गरेको छभन्ने छानबिन गर्नुपर्ने माग गरेका छन् ।

नेता खनालले भ्रष्ट व्यक्तिलाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अब बाहिर आउने बताएका छन् । खनालले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नाम नलिएर भ्रष्टाचारको नायक भनेका छन् ।

प्राधिकरणको महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरी तत्कालीन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई नियुक्त गरिएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्बौंको भ्रष्टाचार घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसँग निरन्तर बयान लिएको छ । अधिकारी तत्कालीन समयमा पोखरा विमानस्थल आयोजनाको प्रमुख थिए ।

Published : Saturday, 2025 March 22, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया