सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पर्याप्त सुविधा दिन सकेको छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकारलाई सुनिश्चित गर्ने सवाललाई जोड दिनुपर्ने बताएका छन् ।

शुक्रबार वीपीनगर, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले अपाङ्गता भएका व्यक्तिहरूको सवाल र सुझावलाई कार्यान्वयन गर्न कांग्रेस प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकारलाई थप सुनिश्चित गर्न यस राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले उठाएका सवाल र सुझावलाई कार्यान्वयन गराउँदै जानेतर्फ नेपाली कांग्रेस प्रतिवद्ध रहेको जानकारी गराउँदै यस ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।’

सभापति देउवाले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको छ ।’

‘नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा उनीहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रह्यो’, देउवाले भने ।

‘२००७ सालको जनक्रान्तिदेखि आजसम्म शारीरिक, मानसिक, वौद्धिक तथा अन्य प्रकारको अपाङ्गताका वावजुद नेपाली कांग्रेसको आह्वान र नेतृत्वमा भएका संघर्षहरूमा साथ दिने सबैलाई स–सम्मान सम्झना गर्न चाहन्छु’, सभापति देउवाले भने ।

उनले भने, ‘लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले पनि प्रष्ट पारेको छ ।’

‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि मात्र अन्य क्षेत्रले झै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न पनि नेपालमा ठोस कदम चालिएका हुन्’, सभापति देउवाले भने ।

‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीमा नेपालले शुरुमै हस्ताक्षर गरेको हो’, उनले भने, ‘अपाङ्गताको परिभाषा, वर्गीकरण, परिचय–पत्रको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको शुरुवात तथा आवश्यक नीति, रणनीति, कार्ययोजनाहरू निर्माण भएका हुन् ।’

सभापति देउवाले भने, ‘नेपालको वर्तमान संविधान अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापनको पक्षमा उभिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारप्रति संवेदनशील छ ।’

सभापति देउवाले भने, ‘सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ हामी सचेत छौं ।’

‘मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन हामी दृढ छौं’, उनले भनेका छन् ।

‘राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले नेपाली कांग्रेसको केन्द्रीय समितिले तोकेको निर्धारित समयसीमा भित्र तल्ला तहका अधिवेशन सम्पन्न गरी पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न गर्न लागेकोमा सम्वद्ध सबैलाई धन्यवाद दिन चाहन्छु’, देउवाले भने ।

‘महाधिवेशनले संघलाई संस्थागत रुपमा थप सक्तक्त बनाउँदै, समावेशी लोकतान्त्रिक अभियानलाई प्रवर्द्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र पहिचानलाई थप स्थापित गर्न दिशा मार्गनिर्देश गर्नेछ, शुभेच्छा व्यक्त गर्दछु’, सभापति देउवाले भने ।

Published : Friday, 2025 March 21, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया