वैदेशिक रोजगारीका अव्यवहारिक नीति तथा कानून सहज बनाउनुपर्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा, र श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीको संयुक्त बैठक बसेको छ ।

बुधबार बुढानिलकण्ठमा परराष्ट्रमन्त्री डा.राणाको पहलमा बसेको बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई व्यवस्थित गर्ने विषयमा छलफल भएको हो । बैठकमा सचिवहरूको पनि उपस्थिति रहेको थियो ।

रोजगारी, अध्ययन तथा अन्य काम व्यवसायका सिलसिलामा नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्नेबारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरुको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने अवस्था रहेकाले सो विषयमा छलफल गर्न परराष्ट्रमन्त्री डा.राणाले आग्रह गरेकी छन् ।

डा.राणाले भनिन्, ‘नेपाल सरकारले प्रतिबन्ध लगाएपनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रुपमा नेपाली महिला अवैध बाटोबाट पुगेकै छन् ।’

‘कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनिएको छ । भोलि कोही समस्यमा परे भने उनीहरुको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुनसक्छ । सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि अब सोच्नुपर्छ’, डा.राणाले भनेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका अव्यवहारिक नीति तथा कानूनहरू हटाएर सहज बनाउनुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘सरकारले कानूनी रुपमा रोकेपनि अवैध बाटोबाट नेपालीहरू आखिर पुगिरहेकै छन् भने यस्ता प्रावधानहरू अब किन राख्ने ?’

परराष्ट्रमन्त्री डा.राणाले भिजिट भिसामा विदेश जान दिने प्रक्रियालाई व्यवहारिक रुपमा अनुगमन गर्न, श्रम स्वीकृति सम्बन्धी व्यवस्थालाई सहजीकरण गर्न तथा अप्ठेरोमा परेका नेपाली डायस्पोराको उद्धारबारे एक स्वीकृत नियम बनाउन पनि सुझाव दिएकी छिन् ।

गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयसापेक्ष बनाई संशोधन गर्नुपर्ने बताएका छन् । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयले समन्वयात्मक भूमिकाको खोजी गरेकोमा गृहमन्त्री लेखकले सराहना गरेका छन् ।

श्रम तथा रोजगारमन्त्री भण्डारीले श्रम कुटनीति अहिलेको नेपालका लागि अति आवश्यक रहेको बताए । उनले घरेलु कामदारको श्रम स्वीकृति सम्बन्धी नवीकरण गरेर व्यवहारिक बनाउनुपर्ने बताएका छन् ।

मन्त्री भण्डारीले नेपालीहरू विश्वका ११० देशमा रोजगारीका लागि पुगेको बताए । घरेलु कामदारहरूलाई मध्यपूर्वी देशमा जान रोकिए पनि अवैध बाटोबाट गइरहेकाले सो सम्बन्धी प्रावधानमा पुनर्विचार गर्नुपर्ने मन्त्री भण्डारीले बताएका छन् ।

Published : Wednesday, 2025 March 5, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया