परराष्ट्रमन्त्री डा.राणाद्वारा नेपालमा स्पेनको राजदूतावास स्थापना गर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच भेटवार्ता भएको छ ।

बुधबार स्वीट्जरल्याण्डको जेनेभामा डा.राणा र बुएनोबीच भेटवार्ता भएको हो । बुएनो युरोपियन युनियनका समेत विदेश तथा सहयोगमन्त्री हुन् ।

परराष्ट्रमन्त्री डा.राणाले बुएनोसँग युरोपियन युनियनको एक महत्वपूर्ण सदस्यका रुपमा रहेर स्पेनले नेपालको आर्थिक सामाजिक विकासमा गरेको सहयोगको सराहना गरेकी छिन् ।

डा.राणाले नेपाललाई कोभिड–१९ तथा भूकम्पजस्ता अप्ठेरो समयमा पनि स्पेनले पु¥याएको सहायताका लाग धन्यवाद दिएकी छिन् ।

उनले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्पेनलाई आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले जलवायु परिवर्तनले नेपाललाई परेको असरबारे नेपालले आन्तर्राष्ट्रिय मञ्चहरूमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको पनि सहयोगका लागि आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्यमा उम्मेदवारी घोषणा गरिसकेको र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि स्पेन सरकारलाई पनि आग्रह गरेकी छिन् ।

डा.राणाले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर आगामी मे महिनामा नेपालले सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेकोले त्यसमा सहभागिताका लागि स्पेनलाई आमन्त्रण गरेकी छिन् ।

भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री डा.राणाले नेपालमा राजदूतावास स्थापना गर्न स्पेनलाई आग्रह गरेकी छिन् ।

यसैबीच, परराष्ट्रमन्त्री डा.राणाले स्लोभाकियाका विदेशमन्त्री जुरज ब्लानरसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी छिन् । डा.राणाले नेपाल–स्लोभाकियाबीचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्रसंघमा दिएका उम्मेदबारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुहरुका बारेमा पनि कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री डा.राणासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार सम्बन्धी उपमन्त्री एनरिक जेभियर ओच मर्टिनाजले पनि शिष्टाचार भेट गरेका छन् ।

भेटमा उनीहरूका बीच नेपाम–मेक्सिको सम्बन्धका विविध पक्ष र आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको छ ।

Published : Wednesday, 2025 February 26, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया