सभापति खतिवडाद्वारा बस दुर्घटनाका घाइतेहरूसँग भेट, उपचारबारेमा जानकारी लिए

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बस दुर्घटनाका घाइतेहरूसँग भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

मंगलबार साँझ सभापति खतिवडा काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा पुगेर घाइते र उनीहरूका आफन्तसँग भेट गरी स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका हुन् । उनले घाइतेहरूको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासन र चिकित्सकहरूसँग आग्रह गरेका छन् ।

मंगलबार बिहान काठमाडौंबाट रामेछापको धोबी, सिरिसे, ढाडे हुँदै ओखलढुङ्गाको लिखुको पोकली हिँडेको अरनिको यातायातको बस काभ्रेपलाञ्चोक जिल्लाको भञ्ज्याङमा दुर्घटनामा परेको थियो । २४ यात्रुमध्ये १७ घाइते भएका छन् । उनीहरूको धुलिखेल हस्पिटलमा उपचार भइरहेको छ ।

यसअघि, मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले घाइतेको उपचार निःशुल्क गर्न सरकारसँग माग गरेका छन् । उनले घाइतेहरूलाई आर्थिक अभावमा उपचारमा कुनै कमी हुन नहुने बताएका छन् ।

Published : Tuesday, 2025 February 25, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया