गुजराको विद्यालयमा १५ वर्षदेखि बुवा-छोराद्वारा घोटाला, छोरी-बुहारीलाई पनि जागिर
प्रेमचन्द्र झा
गौर । रौतहटको गुजरा नगरपालिका– ५ ईस्लामपुरस्थित रहमान प्राथमिक विद्यालयको स्थापनाकाल २०६५ सालदेखि हालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बाबु र प्रधानाध्यापक छोरा रहेपछि अभिभावकहरू चिन्तित बनेका छन् ।
विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुनुको साटो झन् खस्किएको अभिभावकहरूले गुनासो गरेका छन् । समितिका अध्यक्ष मोजिवुर रहमान र प्रधानाध्यापक करारका शिक्षक अफरोज आलमले अभिभावकको कुरालाई वेवास्ता गरेर आफू खुसी निर्णय गर्न खोजेपछि आइतबार विवाद भएको वडाध्यक्ष शेख जमालुदिनले बताए ।
सोमबार वडाध्यक्ष शेखले विद्यालय परिषरमा पत्रकार सम्मेलन गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको गतिविधिले विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताए ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रहमान र प्रधानाध्यापक आलम बाउ छोरा हुन् । विगत १५ वर्षदेखि दुवै जना विद्यालयको स्रोतसाधनमा मनपरी गरिरहेको वडाध्यक्ष शेखले आरोप लगाए ।
स्थानीय जनताले दुबैजनाको क्रियाकलाबाट निकै चिन्ताको विषय बनाएको बताएका छन् । वडाध्यक्ष शेखले रहमान प्राथमिक विद्यालयलाई परिवारिक विद्यालय बनाएको बताएका छन् ।
बालविकासदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा ५ जना शिक्षक कर्मचारीमा प्रधानाध्यापक सहित ४ जना अध्यक्ष रहमान कै घरको छोरी, बुहारी रहेका छन् । विद्यालयमा ८० जनासम्म विद्यार्थी आए पनि ३ सय ६० जना विद्यार्थीको नाममा छात्रवृत्ति, पाठ्यपुस्तक र दिवा खाजा वापत नगरपालिकाबाट सुविधा लिई व्यापक भ्रष्टाचार गरेको वडाध्यक्ष शेखले बताएका छन् ।
विद्यालयमा भ्रष्टाचार गराउन नगर शिक्षा संयोजक शिवमंगल साहको समेत मिलोमतो रहेको पत्रकार सम्मेलनमा उपस्थित स्थानीय अभिभावकले आरोप लगाएका छन् ।
आरोपबारे शिक्षा संयोजक साहसंग सम्पर्क गर्दा उनले नगरमा ३२ वटा विद्यालय रहेको बताउँदै एक्लैले विद्यार्थी गन्न साध्य नरहेको बताए । उनले पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा सहितका सुविधा रकम ईएम आई एसमा नाममा ईन्ट्ररी तथा प्रधानाध्यापकले माग गरेको आधारमा नियमानुसार आफूले भुक्तानीका लागि सिफारिस गरेको बताए ।
प्रधानाध्यापक आलमले आफू उपर वडाध्यक्ष शेखले लगाएको आरोपमा कुनै सत्यता नरेको दाबी गरेका छन् । २०६५ सालमा स्थापना भएको रहमान प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बुबा नै रहेको उनले स्वीकार गरेका छन् ।
आइतवार विद्यालयमा भएको दुई पक्षवीचको झडपमा आफू सहित केही अभिभावक घाइते भएको उनले स्वीकार गरेका छन् । प्रधानाध्यापक आलमको प्रादेशिक अस्पताल गौर र केही अभिभावकको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ ।
यसैवीच, गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले सोमबार आफ्ना कार्यकक्षमा पत्रकारसंग कुरा गर्दै विद्यालयमा देखिएका समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । शिक्षा संयोजक साहको कमिकमजोरीले रहमान प्राथमिक विद्यालय लामो समयदेखि विवाद रहेको उनले बताएका छन् ।
फौजदारी मुद्वा लागेर लागातार तीन महिना विद्यालयमा अनुपस्थित रहेका प्रधानाध्यापक आलमको तलब कट्टा गर्न आफूले लिखित रुपमा निर्देशन दिँदा समेत शिक्षा संयोजक साहले अटेर गरेको नगर प्रमुख चौधरीले बताए ।
नेपाली कांग्रेस रौतहटका सह–सचिव तथा स्थानीय शिक्षा प्रेमी फिरोज आलमले शिक्षा संयोजक साह र प्रधानाध्यापक आलमलाई कार्यवाही नगरेसम्म रहमान प्राथमिक विद्यालयको पठन पाठनमा सुधार नआउने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया