मकवानपुर प्रहरीद्वारा पेस्तोलसहित २ जना पक्राउ, सुन, गाँजा र मोटरसाईकलका तस्कर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हतियार र गोलीसहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

फागुन ११ गते अपरान्ह १५ः४५ बजेको समयमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्टस्थित पूर्वपश्चिम सडकखण्डमा गौरबाट चितवनतर्फ जान आउँदै गरेको ना ८ ख. ८७७३ नम्बरको भाडाको बसलाई विशेष सूचनाको आधारमा चेकजाँच क्रममा हतियारसहित दुई व्यक्ति पक्राउ परेको एसपी खड्काले बताए ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला, धनहरा ग्राम बस्ने वर्ष २२ को धिरज कुमार र बिहार राज्यको मोतीहारी जिल्ला, बहरी ग्राम बस्ने वर्ष अ.२६ को दीपक कुमार रहेको एसपी खड्काले बताएका छन् ।

धिरज कुमारको साथबाट १ राउण्ड गोली लोड भएको ९ एमएम अटो पेस्तोल र थप २ थान गोली गरी जम्मा ३ थान गोली बरामद भएको छ ।

यसैबीच, मकवानपुर प्रहरीले १ हजार १ सय ५६ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको एसपी खड्काले बताए । कात्तिक १० गते बिहान २ बजेर २५ मिनटको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी ठूलोदमारबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाको वडा नं. १८ मैनाचोकस्थित भित्री सडकमा दोभानचौरबाट छतिवनतर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ११२९ नम्बरको योद्धा पिकअपबाट ठूलो परिमाणको गाँजा बरामद भएको हो ।

गाडी चालकले प्रहरीलाई देख्नसाथ चालक तथा सहचालक दुबै जना गाडी छोडेर फरार भएका थिए । गाडीको खानतलासी गर्दा गाडीको पछाडि त्रिपालले छोपेर लुकाई छिपाई गरी ल्याइएको अवस्थामा १ हजार १ सय ५६ किलो गाँजा फेला परेको थियो ।

फरार रहेका चालक र सहचालकलाई खोजतलास गर्ने क्रममा फागुन पुस ७ गते जिल्ला ललितपुर महानगरपालिका वडा नं. १५ तिखेदेवलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेल बस्ने वर्ष २८ को अर्पण सिन्तान भन्ने सुकुलाल सिन्तान र पुस २५ गते कैलाश गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४० को मानसिं गोङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको एसपी खड्काले बताए ।

यता, मकवानपुर प्रहरीले ४३.३८ ग्राम सुन जस्तो देखिने पहेलो धातुको पदार्थसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

फागुन ११ गते बिहान १०ः३० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बाराको कोल्वीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुवाहक बसका चालक बाराको कोल्वी नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३३ को जस जोशी चौधरीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चालक चौधरीको साथबाट पहेलो धातुको पदार्थ ४३.३८ ग्राम अर्थात् सोमबारको बजार मूल्य ६ लाख ३५ हजार २२६ बराबरको सुन फेला परेको एसपी खड्काले बताएका छन् ।

यसैबीच, मकवानपुर प्रहरीले फागुन ११ गते राति ९ बजे मकवानपुरको बागमती गाउँपालिका वडा नं. ७ धन्साईस्थित बाख्रेडाडामा पूर्णबहादुर गोलेको घरमा खानतलासी गरेको छ ।

गोलेको घरबाट शंकास्पद मोटरसाईकलको पार्टसहरू अन्य मोटरसाईकलहरूमा अदलीबदली गरिरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले विभिन्न पार्टहरूसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं. ८ घर भई हाल मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ धमिनथानमा मोटरसाईकल ग्यारेज संचालक वर्ष ४२ को समिम अंसारी रहेका छन् ।

फरार रहेका पूर्णबहादुर गोलेको खोजी कार्य जारी रहेको एसपी खड्काले बताएका छन् । २ थान शंकास्पद मोटरसाईकलसहित अंसारीलाई पक्राउ गरिएको छ ।

Published : Tuesday, 2025 February 25, 12:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया