सानो पाइला सहकारीबाट पनि ८ करोड ५८ लाख जीबी-रविको गोर्खा मिडियामा गएको तथ्य भेटियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट साढे ८ करोड रुपियाँ गएको तथ्य प्रहरीले फेला पारेको छ ।
सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट ७ पटक गरी ८ करोड ५८ लाख ४४ हजार रुपियाँ जम्मा गरेको भेटिएको हो ।
२०७८ साउन १९ मा एकै दिन ४ करोड ९१ लाख ९४ हजार रुपियाँ सारिएको छ । थप रकम ०७८ वैशाख ५ देखि ०७९ साउन १९ सम्ममा सारिएको तथ्यले देखाएको छ ।
गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्वडीआइजी छविलाल जोशीको घरबाट बरामद हार्ड डिस्क अनुसन्धान गर्दा प्रहरीले सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा सारिएको फेला परेको छ ।
सानो पाइलाका बचतकर्ताहरूले रकम हिनामिनाबारे १ वर्षअघि उजुरी दिँदा गोर्खा मिडियामा सहकारीबाट रकम सारिएको प्रमाण फेला परेको थिएन ।
सानो पाइला सहकारीको बचत हिनामिनाका थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए । प्रहरीले पर्याप्त अनुसन्धा नगरी हतारमा मुद्दा अघि बढाएको पीडितहरूको भनाइ छ ।
सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल साउन २१ मा १ करोड १० लाख रुपियाँ र सहकारीका कर्मचारी राधेचन्द्र यादव ३५ लाख रुपियाँ धरौटीमा रिहा भएका छन् ।
सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार छन् । कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया