अमलालाई छाड्न प्रचण्डले नै दवाव दिएको सीआईबीमा चर्चा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब ६० किलो सुन तस्करी प्रकरणमा दोहोरो चरित्र देखाएका छन् ।
दाहालले सुन प्रकरणमा कसैलाई छाड्न आदेश दिएका छन् भने कसैलाई पक्राउ गरेर मुद्दा चलाउन आदेश दिएका छन् ।
सुन तस्करीमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पक्राउ परेकी रोल्पाको थवाङकी अमला रोका मगरलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री मातहतको राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)लाई जिम्मा दिनुअघि अमलालाई सोधपुछका लागि पक्राउ गरेको थियो । पक्राउ गरिएको केही घण्टामा अमलालाई प्रधानमन्त्री दाहालको दबाबमा छाडिएको सीआईबीभित्र चर्चा छ ।
विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो ।
सुन तस्करीमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र अमलाको सम्पर्क सम्बन्ध रहेको तथ्य फेला पारेको थियो ।
साउन १४ गते विभागले दावालाई नियन्त्रणमा लिएको थियो । तीन दिनअघि साउन ११ गते अमलालाई पक्राउ गरी छाडिएको स्रोतको दाबी छ ।
सुन तस्करी प्रकरणबारे सिआइबीले आफ्नै तरिकाले अनुसन्धान गरिरहेको थियो । अन्तरदेशीय र संगठित अपराध भएको भन्दै अनुसन्धानको जिम्मा सिआइबीलाई दिने निर्णय साउन १९ गते भएको थियो ।
सिआइबीलाई अनुसन्धानको जिम्मा दिनुअघि प्रधानमन्त्री दाहाल, तत्कालीन उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर, सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच छलफल भएको थियो ।
फरार रहेकी अमलालाई पक्राउ गर्न माघमा डिफ्युजन नोटिस जारी गरिएको छ । अमला ठमेलमा रहेको भियना होटलकी सञ्चालका पनि हुन् । अमला २०७४ सालअघि नेकपा (माओवादी केन्द्र) सम्बद्ध रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी उपाध्यक्ष थिइन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया