महासमितिमा समूहगत छलफलमा गगनको गठबन्धन विरोधी प्रस्तावको आलोचना, खारेज गर्न माग

गोदावरी । नेपाली कांग्रेसको महासमिति बैठकमा समूहगत छलफलमा सहभागीहरूले महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत गठबन्धन विरोधी सांगठनिक प्रस्तावको विरोध भएको छ ।

बुधबार ललितपुरको गोदावरीमा चार वटा समूहमा प्रतिवेदनहरूमा छलफल भएका थिए । ती छलफलहरूमा धारणा राख्न ९० प्रतिशत जिल्ला सभापति र महासमिति सदस्यहरूले थापाको प्रस्ताव समयसान्दर्भिक नरहेको बताएका छन् । उनीहरूले थापाको सांगठनिक प्रस्तावमा आएको गठबन्धन विरोध विषय खारेज गर्न दवाव आएको छ । लुम्बिनी प्रदेशबाट आएका महासमिति सदस्यहरूले गठबन्धन विरोधी प्रस्ताव खारेज गर्न सुझाव र दवाव परेको छ ।

महासमिति बैठकको तेस्रो दिन उपसभापित पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा.प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको छ ।

प्रतिवेदनमाथि छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यहरूलाई गोदावरी हल, कर्णाली र मधेश प्रदेशका लागि विशंखुनारायण हल, बागमती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुलाई कोन्ज्योसोम हल छुट्याइएको थियो ।

चारवटै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले महासमिति सदस्यहरूको सुझावहरूलाई टिपोट गरेका छन् ।

विभिन्न चार वटा हलमा भएको बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू, जनसम्पर्क समितिका प्रमुखहरूले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

छलफलमा देशभरिबाट आएका महासमिति सदस्यहरूले प्रतिवेदनमा आफ्नो विचार राखेका छन् । महासमितिमा पेश भएका पाँचवटै प्रतिवेदनमा महासमिति सदस्यहरूले आलोचना गर्दै सुधारका धेरै सुझावहरू पेश गरेका छन् ।

गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

महासमिति बैठकमा कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नु पर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतराहरुलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्ने विषयमा आफ्नो धारणा राखेका छन् ।

महासमिति सदस्यहरूले सामाजिक न्यायका लागि नेपाली कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनु पर्ने सुझाव दिएका छन् ।

नेपालको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, उर्जा र जलश्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरू बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने सुझावहरू आएका छन् ।

खेलकुदको पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रबर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको संकटविरुद्ध प्रभावकारी कदम चाल्नुुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चाकर नीति संशोधन गर्नुपर्ने, लगायतका विषयमा जोड दिएका छन् ।

सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि अधिकांश महासमिति सदस्यहरूले सुझाव दिएका छन् ।

महासमिति बैठकको बन्द सत्रको बिहानी सत्रमा मूल हलमा समूहगत छलफलबाट प्राप्त सुझावहरू प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । तत्पश्चात बिहीबार नै अपरान्ह २:३० बजेपछि समापन समारोह गरिने कांग्रेसले जनाएको छ ।

Published : Wednesday, 2024 February 21, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया