कोशीमा गठबन्धनकी उम्मेदवार पराजित भएकोमा कांग्रेसले दियो प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार कोशी प्रदेशमा पराजित भएकोमा गम्भीरपूर्वक लिएको जनाएको छ ।

शुक्रबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले राष्ट्रियसभा निर्वाचन २०८० को कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गर्ने निर्णय गरेको हो ।

कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ, ‘गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई यो बैठकले गम्भीरतापूर्वक लिएको छ ।’

कोशी प्रदेशमा सत्ता गठबन्धनकी उम्मेदवार तथा माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीलाई अन्तरघात गरेर पराजित गरिएको थियो ।

कांग्रेसले राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो । निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी भएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको कांग्रेस संसदीय दलको बैठकले ठहर गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका १० जना विजयी भई कांग्रेस राष्ट्रियसभामा तेश्रो स्थानबाट दोश्रो ठूलो दल बनेकोमा कांग्रेसले खुशी व्यक्त गरेको छ ।

संसदीय दलको बैठकले सम्पूर्ण विजयी उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद दिने निर्णय गरेको छ ।

Published : Saturday, 2024 February 3, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया