कांग्रेस नेता थापा सीआईबी पुगेको घटनालाई अतिरञ्जित गरिएपछि खण्डन

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापाले सीआईबीमा पुगेर पारिवारिक सदस्यलाई भेट गरेको विषयमा केही सञ्चारमाध्यमले अतिरञ्जित गरेर समाचार सम्प्रेषण गरेपछि आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका काकाका छोरा अजितनारायण थापालाई बाँसबारी जग्गा प्रकरणमा सीआइबीले पक्राउ गरेकापछि सुनिलबहादुर थापा के भएको हो भनेर आफन्तका बारेमा बुझ्न पुगेका थिए । सो विषयलाई अतिरञ्जित भएपछि थापाले आपत्ति जनाएका हुन् ।

नेता थापाको अजितसँग भेट भएको छैन । अजितलाई म्याद थपका लागि अदालत लगिएको थियो । त्यसपछि थापा अजितलाई नभेटेर फर्किएका थिए ।

नेता थापाले आफू अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले नभई काकालाई भेट्नका लागि सीआईबी गएको बताएका छन् ।

अजितनारायण थापा पूर्वमन्त्री तथा परराष्ट्रविद डा.भेषवहादुर थापाका सम्धी तथा कनकमणी दीक्षितका मामा ससुरा समेत हुन् ।

अजित बाँसबारी छाला जुत्ता कारखानाको अध्यक्ष भएका बेलाको विषयलाई लिएर पक्राउ गरिए पनि त्यसपछिका घटनाक्रममा अजितको भूमिका नरहेको दाबी आफन्तको छ ।

अजित कांग्रेस धनकुटाका महासमिति सदस्य पनि हुन् । थापाले बयोबृद्ध उमेरका काकालाई भेट्न गएको विषयलाई अतिरन्जित गरिएकोमा दुःख व्यक्त गरेका छन् ।

८२ वर्षीय थापाको उमेर र स्वास्थ्य तथा उनीबाट प्रमाण नष्ट हुने कुनै अवस्था समेत नभएकोले हिरासतबाहिर राखेर बयान लिन आफन्तको माग छ ।

Published : Thursday, 2024 February 1, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया