फर्जी कागज बनाएर ८ सय सरकारी डाक्टर काठमाडौंमा बिरामी, १६ वर्षदेखि बसेको बसै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पहुँचको भरमा काज मिलाएर ८ सय हाराहारी सरकारी डाक्टर काठमाडौंमा रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा संचार प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले काठमाडौंका केही अस्पतालमा आवश्यकभन्दा बढी डाक्टरहरू समेत रहेको बताए । कोही डाक्टरहरू बिरामीको बहाना बनाएर वर्षौँदेखि काठमाडौंमा बसिरहेको उनले बताएका छन् ।

वीर अस्पताल ट्रमा सेन्टरमा २० जना हाडजोर्नी सम्बन्धी चिकित्सक भए पुग्नेमा ४२ जना बसेको उनले बताएका छन् ।

एकजना डाक्टर १६ वर्षसम्म बिरामी भएको सर्टिफिकेट मेडिकल बोर्डबाट ल्याएर काठमाडौंमा बसिरहेको पनि मन्त्री बस्नेतले बताए ।

‘मान्छे बिरामी भएको भयै, अस्पतालमा गएको गयै, जागिर खाको खायै तर अन्त जान नमान्ने’, उनले भने, ‘बिरामीको सर्टिफिकेट दिने कस्तो लिने कस्तो ? यो बारेमा कुरा गर्दा यो डाक्टरको गल्ती हैन नि प्रशासनको गल्ती भने । म भन्छु यसमा लिनेको पनि गल्ती हो प्रशासनको पनि गल्ती हो ।’

यस्ता डाक्टरहरू पहुँचवालाको आडमा काजमा रहने गरेको र आफूले मन्त्रिपरिषद् तथा आफ्नो दलमा पनि कुनै डाक्टरलाई काजमा लागि दबाब नदिन आग्रह गरेको उनले बताए ।

उनले गाउँमा गएका डाक्टरहरूले पनि सहरको सुख सुविधा खोजेर हडताल गर्न उकासेको बताए ।
मन्त्री बस्नेतले भने, ‘अहिले सयौँ डाक्टरहरु गाउँमा हुनुहुन्छ अन्यथा नमान्नुहोला उहाँहरूले पनि अहिलेको हडताल गर्न उस्काइरहनुभएको छ । अप्ठेरो भयो, दु:ख भयो, खाइपाई आएको ठाउँ छोड्नुपर्‍यो ।’

‘अहिले पनि केही मान्छेहरु दुई महिनादेखि गयल भएर बस्नुभएको छ हामीले हाजिर गर्न दिएका छैनौँ’, उनले भने, ‘यो प्रक्रिया अलि अलि गर्दै सुधार गर्दै लगेका छौँ ।’

काम गर्न स्वास्थ्य उपकरण भएन भनेर गुनासो गर्ने चिकित्सक उपकरण भएका दुर्गम क्षेत्रमा भने नजाने समस्या रहेको बस्नेतले बताए ।

जुन अस्पतालमा उपकरण फाजिलमा रहेको छ त्यस्ता स्वास्थ्य उपकरण नपुगेको अस्पतालमा पठाउने व्यवस्था गरेको मन्त्री बस्नेतको भनाई छ ।

यसैबीच, संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा.तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए ।

Published : Friday, 2023 September 29, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया