कांग्रेसको बैठक सोमबारसम्म स्थगित, संघीयता र सरकारबारे समीक्षा गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा संघीयता, धर्मनिरपेक्षता, खस्किदो अर्थतन्त्र, भ्रातृ संस्था, सरकारको समीक्षा लगायतका विषयमा कुरा उठेको छ ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने नेताहरूले संघीयताबारे जनतामा धेरै विरोध र आक्रोश रहेको बताए । उनीहरूले संघीयताबारे उचित धारणा सार्वजनिक गर्नुपर्ने सुझाव दिएका छन् ।

संघीयताले राष्ट्रिय सुरक्षामा नै खतरा उत्पन्न भएको पनि नेताहरूले धारणा राखेका छन् ।

केही नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै सरकारको समीक्षा गर्ने बेला आएको बताएका छन् । मुलुकको शान्ति सुरक्षा बिग्रिएको काठमाडौं उपत्यकाभित्रै ठूला नेताहरूमाथि सांघातिक आक्रमण हुन थालेको बताएका छन् ।

बैठकमा भ्रातृ संस्थाहरू अधिवेशनका विषयमा पनि कुरा उठेको छ । भ्रातृ संस्थाको अधिवेशन गरेर कांग्रेसलाई बलियो बनाउन माग गरिएको छ ।

हिन्दु धर्मका विषयमा पनि नेताहरूले जोडदार रुपमा कुरा राखेका छन् । नेताहरूले सनातन धर्ममाथि दिनदिनै प्रहारहरू भइरहेको जनाएका छन् । हिन्दु धर्म र संस्कृतिलाई कमजोर बनाएर नेपाललाई कमजोर राष्ट्र बनाउन खोजेको नेताहरूले टिप्पणी गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेदेखि जारी छ । अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाँइले धारणा राखेका छन् ।

कर्णबहादुर बुढा, रामजनम चौधरी, रमा कोइराला पौडेल, राजीव ढुंगाना, राजेन्द्रकुमार के.सी., विनोदकुमार चौधरी, ई.मोहन आचार्य, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल आचार्य, विद्यादेवी तिमिल्सीना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले बैठकमा आ–आफ्नो धारणा राखेका छन् ।

Published : Sunday, 2023 September 24, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया