मेडिकल सामग्री खरिदमा हस्तक्षेप गर्न बागमतीका कामु निर्देशकले मेसुहरू बोलाए

काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रका कामु निर्देशक बसन्त अधिकारीले १३ जिल्लाका मेडिकल सुपरिटेन्डेण्ट (मेसु)हरूलाई बोलाएका छन् ।

अधिकारीले मेसुहरूलाई अस्पतालहरूमा आवश्यक उपकरणहरूको प्रक्षेपण, परिणाम निर्धारणका लागि समीक्षा गर्ने भनेर बोलाएको पत्रमा उल्लेख छ । हेटौँडामा बोलाइएका मेसुहरूलाई अधिकारीले भत्ता दिने जनाएका छन् । उनले इन्धन खर्चको व्यवस्था आफ्नै कार्यालयबाटै मिलाउन निर्देशन दिएका छन् ।

कामु निर्देशक अधिकारीले १३ वटा अस्पतालहरूमा खरिद बिक्री हुन लागेको तथ्याङ्क संकलन गरी आफ्नो हस्तक्षेप बढाउन भेला गर्न लागेको आरोप छ ।

१३ जिल्लाका अस्पतालहरूले मेडिकल सामग्री खरिदका साथै विभिन्न शीर्षकमा बजेट खर्च गर्न लागेका छन् । त्यो खरिद बिक्री र खर्चमा पछि हस्तक्षेप बढाएर हालीमुहाली गर्न कामु निर्देशक अधिकारीले मेसुहरूलाई बोलाएको आरोप छ । कामु निर्देशक अधिकारीले मेसुहरूमाथि हस्तक्षेप गरेर ‘कमिशन’ बढाउन दवाव दिन लागेको आरोप पनि छ ।

अधिकारीविरुद्ध बेलाबेला अनियमितता गरेको आरोप लाग्दै आएको छ । उनीविरुद्ध विभिन्न निकायमा पनि उजुरीहरू परेका छन् । अधिकारी विवादित र बद्नाम कर्मचारी भनेर पनि स्वास्थ्य मन्त्रालयमा चर्चा हुने गरेको छ ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा निर्देशक रहने व्यवस्था छ । तर, अधिकारीले राजनीतिक शक्तिको आडमा केन्द्रमा कामु निर्देशक लिएर बसेका छन् ।

असोज ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म हेटौँडास्थित नागरिक आवासीय तालिम केन्द्रमा कार्यक्रम हुनेछ ।

Published : Sunday, 2023 September 24, 8:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया