यतीको जहाज दुर्घटनाबारे प्रतिवेदन आयो, प्रदीपको सातोपुत्लो उड्यो

काठमाडौं । जाँचबुझ आयोगले पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएको बारेमा प्रतिवेदन बुझाएको छ ।

बिहीबार जाँचबुझ आयोगका संयोजक नागेन्द्र घिमिरेले फाइनल प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएका हुन् । प्रतिवेदनलाई ६० दिनसम्म गोप्य राखिनेछ । त्यसपछि प्रतिवेदन सार्वजनिक गरिनेछ ।

२०७९ सालको माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी जहाज पोखरामा दुर्घटनामा परेको थियो ।

प्रतिवेदनलाई सरोकारवाला निकाय र मुलुकमा मस्यौदा पठाइनेछ । प्रतिवेदनमा प्रतिक्रिया लिइनेछ ।

यसअघि आयोगले फागुन पहिलो साता दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा मानवीय त्रुटि मुख्य कारण रहेको निष्कर्ष निकाल्दै थप अध्ययन गर्ने बताएको थियो । प्रारम्भीक प्रतिवेदन ककपिट भ्वाइस रेकर्डरका आधारमा निकालिएको थियो । फाइनल प्रतिवेदनमा विभिन्न पक्षसँग अध्ययन गरेर बनाइएको छ ।

प्रारम्भीक प्रतिवेदनपछि दुर्घटनाको भग्नावशेषबाट ३ सय किलो तौलका विभिन्न उपकरण फ्रान्सको ल्याबमा लगेर अध्ययन गरिएको थियो ।

पोखरामा भएको जहाज दुर्घटनामा काठमाडौंबाट ककपिटमा पाइलट कमल केसी र क्याप्टेन अन्जु खतिवडा थिए । जहाजको कमाण्ड क्याप्टेन अन्जु खतिवडासँग थियो ।

जहाज १०:३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ५ सय फिटको उचाइँमा ओर्लिसकेको थियो ।

ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग थ्रीजीरोबाट अवतरण गर्न अनुमति दिएका थिए ।

पाइलटले उत्तरतर्फको रनवे वानटूबाट जहाज अवतरण गराउने गरी अनुमति मागेका थिए । जहाज अवतरण गर्ने बेला पोखराको मौसम खुलेको थियो ।

जहाज १०:५७:३२ सेकेन्डमा भुँइमा बजारिएको थियो । त्यसको ठीक अगाडि १०:५७:१८ सेकेण्डमा को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रारम्भीक प्रतिवेदनमा उल्लेख थियो ।

जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो । यती एयरलाइन्सको जहाज दुर्घटना नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा ठूलो र विनासकारी दुर्घटना मानिएको छ ।

यती एयरलान्सको जहाज इतिहाँसकै ठूलो दुर्घटना हुँदा समेत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कुनै कारबाही भएको छैन । सरकारले अधिकारीलाई निलम्बन पनि गरेन । बरु हवाइ उड्डयनको क्षेत्रमा त्यसपछि पनि विभिन्न दुर्घटना र त्रुटिहरू भएका छन् ।

आयोगले प्राधिकरणका महानिर्देशक अधिकारीलाई कारबाहीको लागि सिफारिस पनि गरेको हुन सक्छ । अधिकारी प्रतिवेदनलाई लिएर तनाबमा रहेको मन्त्रालयमा चर्चा छ ।

Published : Friday, 2023 September 22, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया