शिक्षकका माग सम्बोधन गर्न कांग्रेस तयार, विधेयकलाई परिमार्जन गर्न संशोधन हाल्ने

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षामा सम्पूर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेशालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु सबैको दायित्व रहेको जनाएको छ ।

शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गरेर भनेको छ, ‘मुलुकको समग्र समुन्नतिको मार्गप्रशस्त गर्ने प्रारम्भीक थलो विद्यालयहरू नै हुन् । विद्यालय शिक्षामा सम्पूर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेशालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु हामी सबैको दायित्व हो ।’

कांग्रेसले भनेको छ, ‘यस दिशामा सबैको साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरुपको भूमिकाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक अपील गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकलाई लिएर मुलुकभरका शिक्षकहरू आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्षबीच भैरहेको वार्तालाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ ।’

‘विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको वर्षौदेखिका समस्याहरू समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो’, कांग्रेसले भनेको छ ।

‘अघिल्लो ऐन र कानूनी व्यवस्थाहरूका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण विषयहरू समेट्नु एकातर्फ सुखद् छभने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन’, कांग्रेसले उल्लेख गरेको छ ।

‘विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरूको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ’, कांग्रेसले भनेको छ ।

‘यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन/संशोधन गर्न पर्ने विषयहरू छन्’, कांग्रेसले भनेको छ ।

‘संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठन–पाठन सुचारु हुने वार्तावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपील गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 September 22, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया