आफैले मन्त्री बनाएका खेमलाई सभापति देउवाले श्रद्धाञ्जलि दिए, सामाजिक-राजनीतिक संस्कार देखाए

काठमाडौं । बर्दिया घर भएका पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित भट्टको काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा बिहीबार राति दश बजेर २५ मिनटमा मृत्यु भएको उनका छोरा आकाश भट्टले बताए ।

खेमराजको आजै (शुक्रबार) बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । खेमराजलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पशुपति आर्यघाटमा पुगेर खेमराजलाई अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

सभापति देउवाले नै खेमराजलाई मन्त्री बनाएका थिए । कांग्रेससँग असन्तुष्टि भएपछि खेमराजले पार्टी छाडेर माओवादीमा प्रवेश गरेका थिए ।

खेमराजको निधन भएको खबरले मर्माहत भएका सभापति देउवा आफ्ना साथीलाई अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेका हुन् । खेमराजलाई अन्तिम श्रद्धाञ्जलि दिएर सभापति देउवाले सामाजिक र राजनीतिक संस्कार देखाएका छन् । नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसाल लगायत आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

बिक्रम संवत् २००४ सालमा डडेल्धुराको डुङ्गरी भन्ने स्थानमा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेतामा पर्छन् ।

रामराजाप्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर बिक्रम संवत् २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो ।

त्यतिबेला खेमराज जनवादी मोर्चाको उपाध्यक्ष थिए । बिक्रम संवत् २०४२ को बम काण्डपछि तत्कालीन सरकारले खेमराजको सम्पति सर्वश्वहरण गरेको थियो । त्यसपछि खेमराज १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए ।

बिक्रम संवत् २०३० सालतिर स्वर्गीय रामराजाप्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा गठन गर्नुअघि खेमराजको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस निकट थियो । खेमराज मोर्चाबाट बिक्रम संवत् २०५३ सालमा फेरि नेपाली कांग्रेसमा फर्किएका थिए ।

बिक्रम संवत् २०५६ सालमा बर्दिया क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा खेमराज निर्वाचित भएका थिए । बिक्रम संवत् २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा खेमराज सामान्य प्रशासनमन्त्री भएका थिए ।

बिक्रम संवत् २०७० सालमा खेमराज पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका थिए ।

खेमराज पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा पटक–पटक जेलसमेत परेका थिए । क्यान्सर रोगबाट पीडित खेमराजलाई वीर अस्पतालमा केही हप्ताअघि चौथोपटक किमो दिइएको थियो । खेमराजका दुई छोराहरू छन् । श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारण निधन भइसकेको छ ।

Published : Friday, 2023 September 22, 3:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया