धरानमा उप–प्रमुखको घरमा हतियारधारी समूहबाट आक्रमण

काठमाडौं । धरान उप–महानगरपालिकाका नगर उप–प्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले तोडफोड गरेको छ ।

घरमा प्रवेश गरी हतियारधारी समूहले उप–प्रमुख बेघाका भाइलाई खुकुरी प्रहार गरेको छ । बेघाको देब्रे गालामा खुकुरी प्रहारबाट चोट लागेको छ ।

धरान उप–महानगरपालिका वडा नं. १५ स्थित खोरिया बस्तीमा केही अराजक युवाहरूले बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । हातहतियारसहितको समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उप–प्रमुख बेघाले प्रहरीलाई फोन गरेका थिए ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको छ । खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जनाएका छन् ।

घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन् । सुनसरीका प्रहरीले भने घर तोडफोड गर्नेहरूको खोजी थालिएको जनाएको छ ।

बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन थाल्ने सुनसरीका प्रहरी प्रमुख विपिन गौतमले बताएका छन् ।

धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन् । धरानका प्रमुख हर्क साम्पाङबाट नियमित सार्वजनिक भइरहेका आपत्तिजनक अभिव्यक्तिले पनि तनाव बढाएको भन्दै उनको आलोचना हुने गरेको छ ।

Published : Tuesday, 2023 September 12, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया