गृहमन्त्री श्रेष्ठको अराजकताविरुद्ध तरुण दल शीतल निवास पुग्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेट गरेर मुलुकको कमजोर शान्ति सुरक्षाका बारेमा जानकारी गराएका छन् ।

सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलसँग अध्यक्ष गुरुङले भेट गरेका हुन् । भेटमा पौडेलको स्वास्थ्य अवस्थाका बारेमा कुराकानी भएको थियो । अध्यक्ष गुरुङले गृहमन्त्रीका पछिल्ला गतिविधि अराजक र कानून विपरितका भएको गुनासो गरेको स्रोतले जनाएको छ ।

अध्यक्ष गुरुङले तरुण दलको योजना र कार्यक्रम तथा महाधिवेशन लगायतका विषयमा जानकारी गराएका छन् ।
तरुण दलले शान्ति सुरक्षा कमजोर भएको तथा राजनीतिक पूर्वाग्रही भएको भनेर आन्दोलन गरिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका नेताहरूमाथि मात्रै अनुसन्धानको नाममा पक्राउ गरेर थुनामा पठाउने कार्य गरेको तरुण दलको आरोप छ ।

तरुण दलले अपराधमा संलग्न माओवादी केन्द्रका नेताहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै आएको छ ।

केही दिन अगाडि काठमाडौंको मुटु मानिने भृकुटीमण्डपमा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका यादवको बीर अस्पतालमा उपचार भइरहेको छ ।

तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरिरहेको छ । राजीनामा माग गरेर आन्दोलन गरिरहेको छ ।

Published : Monday, 2023 September 11, 6:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया