ताप्लेजुङमा डीएसपीले प्रहरीकै बदनाम गरे, तरुण–विद्यार्थीद्वारा निलम्बनको मागसहित प्रदर्शन

काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ताप्लेजुङमा प्रहरीको ज्यादती र गुण्डागर्दीविरुद्ध प्रदर्शन गरेका छन् ।

बिहीबार राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामलाई प्रहरीद्वारा आक्रमण भएको भन्दै शुक्रबार सुरक्षा निकायविरुद्ध तरुण दल र नेविसंघले प्रदर्शन गरेका हुन् ।

प्रहरीविरुद्ध नारावाजी गर्दै तरुण दल र नेविसंघ पार्टी कार्यालयबाट विरोध जुलुस निकालेका छन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको संरचनामा ढुङ्गा, लाठी प्रहार गरेका छन् ।

तरुण र विद्यार्थीको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको छ । आपत्तिएको ताप्लेजुङ प्रहरीले तरुण दल र नेविसंघको प्रदर्शनलाई दमन गर्न जबरजस्त रुपमा बल प्रयोग गरेको नेपाली कांग्रेस ताप्लेजुङले आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूलाई निलम्बन गर्नुपर्ने लगायतका मागसहित तरुण दल र नेविसंघले नाराबाजी गर्दै बजार परिक्रमा गरेका छन् ।

तरुण दल र नेविसंघले जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा समेत गरेका छन् । कांग्रेसका प्रदेशसभा सदस्य हाङ्गामले आफूमाथि प्रहरीले नियोजितरूपमा आक्रमण गरेको बताएका छन् ।

सुरक्षार्थ खटिने प्रहरीले जनप्रतिनिधिमाथि नै आक्रमणको प्रयास गर्नुले प्रहरीप्रति सर्वसाधारण नागरिकको विश्वास र भरोसा गुमेको प्रदेशसभा सदस्य हङ्गामले आरोप लगाएका छन् ।

सदरमुकाममा लागेको मिनिमेलालगायतका विभिन्न कार्यक्रमबाट प्रहरी नायब उपरीक्षक लिम्बूले पैसा लिएको आरोप समेत प्रदेशसभा सदस्य हङ्गामले लगाएका छन् ।

पाथीभरा क्षेत्रका यातायात व्यवसायीबाट समेत पैसा असुल्ने गरेको हङ्गामले बताएका छन् । नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङले कांग्रेसविरुद्ध नै प्रहरी नियोजितरूपमा प्रस्तुत बताएका छन् ।

बिहीबार राति प्रहरीको टोलीले हाङ्गामको निवास घेराउ गरी ढुङ्गा प्रहार गरेको थियो । प्रहरीले हाङ्गामलाई पेस्तोल तेर्स्याएको, अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको तरुण दलको आरोप छ ।

मध्यरातमा सामाजिक सञ्जालमा सार्वजानिक भएको भिडयोमा प्रहरीले हाङ्गाम निवासको गेटमा लात्ती प्रहार गरेको देखिएको छ । सादा पोसाकमा रहेका एक जनाले ढुङ्गा प्रहार गरेको भिडियोमा देखिएको छ ।

प्रहरीले बजार क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीले मापसेसहित देखिएका केहीलाई सजग गराउने क्रममा उल्टै प्रहरीमाथि गालीगलौज भएपछि विवाद सिर्जना भएको जनाएको छ ।

मिनिमेला लागिरहेको गेटबाहिर भएको उक्त विवाद सामान्य भएर प्रहरीको टोली कार्यालय फर्कने क्रममा हतियार खोस्ने प्रयास भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक लिम्बूले बताएका छन् । लिम्बूका अनुसार हतियार खोस्न खोजेपछि थप विवाद भएको थियो ।

हाङ्गाम निवासको गेटभित्र खुकुरीसहित युवाको समूह देखिएपछि त्यहाँ प्रहरी पुगेको लिम्बूले दाबी गरेका छन् ।

Published : Friday, 2023 September 8, 11:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया