गृहमन्त्रीको राजीनामा मागेर तरुण दलको प्रदर्शन

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै नेपाल तरुण दल मकवानपुरले हेटौंडामा प्रदर्शन गरेको छ ।

कांग्रेस सहमहामन्त्री महेन्द्र राय यादव माथिको सांघातिक हमलाको विरोध गर्दै बिहीबार साँझ तरुण दल मकवानपुरले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै नाराबाजी गर्दै जुलुस निकालेको हो ।

नेपाली कांग्रेस मकवानपुरको हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको थियो ।

तरुण दलका युवाहरुले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने र सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानबिनसहित दोषीलाई हदैसम्मको कारबाही माग गरे ।

तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडि बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

उनले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई गृहमन्त्री श्रेष्ठले फसाएको आरोप लगाउँदै तरुण दल अब हातमा ‘दही’ जमाएर नबस्ने र सडक संघर्ष गर्ने चेतावनी दिए ।

कांग्रेस मकवानपुरका युवा नेता विकेशलाल श्रेष्ठले पछिल्लो समय कांग्रेसमाथि लगातार प्रहार भइरहेको भन्दै तरुण र विद्यार्थी अब मौन बस्न नहुने बताए ।

Published : Friday, 2023 September 8, 7:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया