सक्रिय हुन खोजेको होइन, सहमतिको नजिक पुगेको कुराले सन्तोष मिलेको छ : राष्ट्रपति

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले विभिन्न बखेडा झिकेर संसद अबरोध गर्नेदेखि सरकारलाई कामकारबाही गर्न असहयोग गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गरेका छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा पौडेलले सबै राजनीतिक दललाई बोलाएका छन् । बैठकलाई सम्बोधन गर्दै उनले आफू लोकतन्त्रका लागि धेरै दु:ख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताएका छन् । उनले संविधानले दिएको अधिकारअनुसार संविधानको संरक्षण, पालना गर्ने बताएका थिए ।

जनताका यावत समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द भएको भए पनि सहमतिको नजिक पुगेको समाचारले सन्तोष मिलेको राष्ट्रपति पौडेलले बताएका छन् ।

उनले भने, ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दु:ख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।’

‘विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौ भन्ने पनि थियो’, पौडेलले भने ।

‘संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ’, पौडेलले भने, ‘संंविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु ।’

उनले भने, ‘अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ ।

यसले गर्दा शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिड्न सकेका छौ कि छैनौ भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ ।’ ‘संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्वपूर्ण कानुनहरू बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेका छन्’, पौडेलले भने ।

‘सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानूनी विषय अझै टुङ्गोमा पुग्न सकेको छैन । यतिबेला यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पुरा हुन सक्दैन’, उनले भने ।

‘देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमा पास गर्न सकिएन भने नेपालमा आउने विदेशी लगानी रोकिन सक्छ र नेपालको साख अन्तर्राष्ट्रिय जगतमा गिर्न सक्छ भन्नेतर्फ सचेत भएर ती कानून बनाउन आग्रह गर्दछु’, उनले भने ।

‘जनताका यावत समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्व हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भैरहेकाबेला सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खवरबाट सन्तोष मिलेको छ’, उनले भने ।

‘यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्व संसद सञ्चालन हुनेछ भन्ने मैले विश्वास लिएको छु’, पौडेलले भनेका छन् ।

‘यदाकदा दलहरूबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरेपनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्छ’, उनले भने ।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौ उदाहरणहरू हाम्रा सामु छन्’, उनले भने ।

‘त्यही भएर सधैँ आपसी संवाद, वार्ता र छलफलबाट समस्याको निकास निकाल्न सबै राजनीतिक दलहरू अग्रसर होउन भन्ने मेरो सदिच्छा छ । जनताको अपेक्षा पनि यही हो’, पौडेलले भने ।

‘सुशासनका पक्षमा हामी दह्रोसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्ता भइरहेकाबेला सार्वभौम संसद सुशासन प्रत्याभूत गराउन सबैलाई बाध्य पार्ने थलो हो भनेर सिद्ध गर्न यहाँहरू सबैलाई आग्रह गर्दछु’, उनले भने ।

राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रिय सुरक्षा, वेरोजगारी तथा भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास तथा परराष्ट्र नीतिजस्ता मुलुकका साझा दायित्व र जिम्मेवारीमा यहाँहरू सबैको समान दृष्टिकोण होस् भन्ने मेरो धारणा छ ।’

‘हामीले हाम्रो जिम्मेवारी सही ढंगले पुरा गर्न सकेनौ र जनताको अपेक्षालाई उपेक्षा गरिरह्यौ भने हामीले अवलम्वन गरेको सर्वोत्कृष्ट व्यवस्था हुँदाहुँदै पनि जनतामा यसप्रतिनै नैराश्यता उत्पन्न हुने भएकाले यसतर्फ सचेत रहन सबैको ध्यानाकृष्ट गराउन चाहन्छु’, उनले भने ।

प्रमुख विपक्षी दल एमालेले राष्ट्रपति पौडेलद्वारा बोलाइएको बैठकलाई बहिस्कार गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 August 22, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया