सीआईबीले लियो गच्छदारसँग बयान, अरु क–कसले दिए बयान ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ ।

सीआईबीले सोमबार साँझ गच्छेदारसँग ललिता निवासको जग्गा हिनामिना प्रकरणमा बयान लिएको हो ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७६ माघ २६ गते दायर गरेको मुद्दामा पनि गच्छदारलाई अभियुक्त बनाइएको छ । गच्छदारलाई ९ करोड ६५ को बिगो दाबी गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गच्छदार १ सय ५७ जनाविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

मुद्दा दायर भएपछि लुकेर बसेका गच्छदार सरकार परिवर्तन भएपछि विशेष अदालतमा उपस्थित भएका थिए ।

गच्छदारलाई अदालतले २०७८ असार ३० गते १० लाख रुपिया धरौटीमा रिहा गरेको थियो ।

गच्छादार उपप्रधान तथा भौतिक योजनामन्त्री भएका बेला नक्कली मोही खडा गरिएको प्रस्ताव मन्त्रिपरिषदमा लगेको अभियोग छ । दीप बस्न्यात सो मन्त्रालयको सचिव थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहेका बस्न्यातविरुद्ध पनि विशेष अदालतमा मुद्दा छ ।

उनीहरूले तयार पारेको प्रस्तावमा राजकुलो, बाटो र समरजंग कम्पनीलाई जग्गा दिने भन्ने उल्लेख थियो ।

सीआइबीले सोमबार पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि बयान लिएको छ । आइतबार राति पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईको पनि सीआईबीले बयानको कागज गराएको छ ।

Published : Tuesday, 2023 August 22, 12:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया