एमालेले सरकारलाई झुकायो, ओलीको माग पूरा, ३ सदस्यीय कार्यदल गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को मागलाई सुनुवाइ गर्न तयार भएका छन् ।

सोमबार राति सिंहदरबारमा बोलाएको बैठकमा प्रधानमन्त्री दाहाल सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयारको जनाएका हुन् । दाहाल तयार भएपछि तीन सदस्यीय कार्यदल समेत बनेको छ ।

छानबिन समिति बनाउन दलहरू सहमत भएपनि त्यस्तो समितिको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन । मस्यौदा तयार पार्न एमालेका सुवासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । मंगलबार ११ बजेसम्म यो कार्यदलले मस्यौदा तयार पार्नेछ । मंगलबार २ बजे प्रमुख दलको बैठक बसेर समिति बनाउने निर्णय गर्नेछ ।

छानबिन समितिको कार्यदेशबारे गृहकार्य गर्न तीन नेतालाई जिम्मेवारी दिइएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।
गिरीले भने, ‘तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मत हामीले आज पनि राख्यौं । सरकारको तर्फबाट पनि उच्चस्तरीय छानबिन समिति बनाउन हामी पनि तयार नै छौं भन्ने आएको छ ।’

एमालेले साउन १० गतेदेखि लगातार संसदको बैठक अवरुद्ध पार्दै आएको छ । सुन प्रकरणमा समिति बनेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गर्दै आएको अनुसन्धान के हुने हो केही भनिएको छैन ।

एमाले प्रमुख सचेतक गिरी सीआईबीको छानबिनमा क्रममा कुनै कमी भए नभएको हेर्नुका साथै तस्करी रोक्न कानूनी र संरचनागत सुधारका लागि चाल्नुपर्ने कामबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार सहमति जुटाउने र सदनको अवरोध हट्ने बताएका छन् ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका नेता राजकिशोर यादव, राप्रपाका नेता बिक्रमबहादुर पाण्डे, बुद्धिमान तामाङ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रमेश लेखक, सुवासचन्द्र नेम्वाङ, पदम गिरी लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2023 August 21, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया