ओलीले क–कसको जिम्मेवारी खोसे ? बागी र बिद्रोहीलाई माफी, धेरै नेता रुने अवस्थामा पुगे

काठमाडौं । एमालेले पार्टीको केन्द्रीय विभागका सदस्यहरूका साथै नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको छ ।

एमालेले उप–महासचिव पृथ्वी सुब्बा प्रमुख रहेको संसदीय विभागमा सदस्यहरू मनोनयन गरेर १६ सदस्यीय बनाएको छ ।

विभागीय सचिवको जिम्मेवारीबाट डा. दीपकप्रकाश भट्ट, शोभियत ढकाललाई हटाइएको छ ।

एमालेले केन्द्रीय कमिटी सदस्यबाट केशव स्थापित र प्रमोदनारायण यादवलाई हटाएको छ । स्थापित र यादवले एमाले छाडेको जनाएका थिए ।

एमालेले गुरुप्रसाद बराललाई केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको रिक्त इन्चार्जको जिम्मेवारी दिएको छ । विद्यासुन्दर शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज बनाएको छ ।

नेता झपटबहादुर बोहरा सामाजिक सेवा विभागको प्रमुख बनेका छन् । कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीलाई प्रदेश कमिटीको सिफारिसमा जिम्मेवारीबाट हटाइएको छ । एमालेले शाहीको ठाउँमा टेकराज पछाईलाई मनोनयन गरेको छ ।

असार ३० र साउन २९ गते बसेको एमाले सचिवालय बैठकका निर्णय समेटेर अध्यक्ष ओलीले शुक्रबार जारी गरेको अन्तर पार्टी निर्देशनमा विभागका केही नेताहरूको जिम्मेवारी हेरफेरदेखि प्रदेश अधिवेशन शुल्क तोकेका छन् ।

एमालेले यसअघि अधिवेशनका क्रममा अभ्यासमा रहेको शुल्क प्रतिकुल रहेको भन्दै अधिकतम ५ सय रुपियाँ तोकेको जनाएको छ ।

‘पार्टी र जनसंगठनको अधिवेशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट समेत प्रतिकूल रहेकोले अधिवेशनमा उम्मेदवारी शुल्क अधिकतम रु. ५०० कायम गर्ने निर्णय गरिएको छ’, निर्देशनमा भनिएको छ ।

‘उम्मेदवारी शुल्क तोक्दा त्यसको अनुपात यही अधिकतम शुल्कको आधारमा मिलाउन निर्देशित गरिएको छ’, एमालेले जनाएको छ ।

यसअघि अध्यक्षका लागि एक हजार र सदस्यहरुका लागि पाँच सय तोकेकोमा अव अध्यक्ष र सचिवका लागि पनि ५ सय रुपियाँ मात्र निर्धारण गरेको छ ।

एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग बढ्दा भ्रम सिर्जना भएको भन्दै त्यसलाई नियन्त्रण गर्ने नीति लिएको छ ।

एमालेले सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई जिम्मा दिएको छ ।

निर्देशनमा एमालेले गत निर्वाचनका समयमा बागी र विद्रोही भई कारबाहीमा परेर पनि आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने जनाएको छ ।

अन्तर्घात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नहरूलाई भने सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको अध्यक्ष ओलीले हस्ताक्षर गरेको निर्देशनमा उल्लेख छ ।

एमालेले नेताहरूलाई पठाएको सर्कुलरमा पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीसँगै पार्टी अध्यक्ष केपी ओलीबाहेक अरु नेताको तस्बिर नराख्न निर्देशन दिएको छ ।

एमालेले भनेको छ, ‘सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषय: सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएको छ ।’

Published : Friday, 2023 August 18, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया