बालुवाटारमा गगन-शेखर गुटको बैठक, एक्लिएपछि गगनको नयाँ रणनीति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाले गुटको बैठक राखेका छन् ।

काठमाडौंको बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा गगन–शेखर समूहको बैठक बसेको स्रोतले जनाएको छ ।

बैठकमा पुरानो गुटलाई पुन: जन्माउने विषयमा छलफल भएको बुझिएको छ । गगनले सबैतिरबाट आफू एक्लिदै गएपछि शेखरको साथ र सहयोग खोज्ने प्रयास गरेका छन् ।

बैठकमा कानून मन्त्री समेत रहेका उप–सभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह–महामन्त्री जीवन परियार, केन्द्रीय सदस्यमा गोविन्दराज पोखरेल, मधु आचार्य, राष्ट्रिय सभाकी सांसद कमला पन्त, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायतको उपस्थिति रहेको थियो । विभिन्न भ्रातृ संस्थामा रहेका आफू निकटका नेताहरूलाई पनि गगन–शेखर समूहले बोलाएको थियो ।

महामन्त्री थापाले आफ्नो छुट्टै गुट बनाउन खोजेका थिए । आफ्नो गुटलाई अन्य नेताहरूले विश्वास नगरेपछि गगन पुन: नेता शेखर कोइरालाको शरणमा पुगेका छन् ।

संसदीय दलको नेतामा महामन्त्री थापा आफै उम्मेदवार बनेका थिए । थापाले कोइरालालाई उम्मेदवार बन्न अवरोध गरेका थिए ।

त्यस बेला चिसिएको सम्बन्धमा सुधार ल्याउन थापाले प्रयास गरिरहेका छन् । केही दिन अगाडि महामन्त्री थापाले नेता कोइरालालाई दरबारमार्गको पाँचतारे होटल याक एण्ड यतीमा बोलाएर भेट गरेका थिए ।

कांग्रेसका विभागहरूको गठनको तयारी भइरहेको छ । भ्रातृ संस्थाहरू पनि धमाधम गठन भइरहेका छन् । सभापति शेरबहादुर देउवासँग बार्गेनिङ गर्नका लागि गगनले शेखरसँग मिलेर गुटको बैठक राखेको चर्चा छ ।

गगनले शेखरसँग आफू पुन: मिलेको सन्देश दिने प्रयास गरेका छन् । गगनका कारण शेखरलाई कति नोक्सानी भएको छ त्यो कुरा मनभित्र पक्कै होला ।

देउवालाई संसदीय दलको नेता र सभापति पदबाट फाल्ने भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएर विवादमा तानिएका गगनले शेखरलाई नजिक बनाउन खोजेका छन् ।

उप–सभापति पूर्णबहादुर खड्कासँग पनि निकटता बनाउने प्रयासमा गगन छन् । खड्का र गगनबीच बाक्लै भेटवार्ताहरू हुने गरेका छन् ।

Published : Thursday, 2023 August 17, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया