एमालेले उथलपुथल मच्चाइरहेका बेला प्रधानमन्त्री अमेरिका र चीन जाने

काठमाडौं । सरकारको विषयलाई लिएर प्रमुख विपक्षी दल एमालेले उथलपुथल मच्चाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क र चीन भ्रमणमा जाने भएका छन् ।

दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन न्यूयोर्क जानेछन् । दाहाल अमेरिकाबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने तयारी छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको न्यूयोर्क र चीन भ्रमणको तयारी सुरु गरिसकेको छ । दाहालको भ्रमणका विषयमा मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गरिसकेको छैन ।

यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालको सम्बोधनको मिति र चीन भ्रमणको मिति एकैदिन परेको थियो ।

प्रधानमन्त्री दाहालले महासभालाई सेप्टेम्बर २१ मा सम्बोधन गर्ने गरी मिति संशोधन भएको छ । महासभामा सम्बोधन अगाडि विभिन्न कार्यक्रमहरूमा सहभागी पनि हुनुपर्ने भएकाले १६ वा १७ सेप्टेम्बरमा काठमाडौंबाट न्यूयोर्क प्रस्थान गर्ने तयारी छ ।

महासभालाई सम्बोधन अघि सेप्टेम्बर १८ र १९ मा दिगो विकास सम्बन्धी सम्मेलनमा पनि सहभागी हुनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड त्यस अगाडि नै न्यूयोर्क प्रस्थान गर्न सक्ने बुझिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट सिधै चीन जाने तयारीमा छन् । चीनमा उनी १९ औं एसियाली खेलकुदमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने छन् । भ्रमण टोलीका सदस्य र टिकटका टुंगो लागेको छैन ।

Published : Monday, 2023 August 14, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया